
बागलुङ, २९ भदौ । बागलुङमा अन्तर माध्यमिक विद्यालय (कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन समुह चरणका खेलहरु सम्पन्न भएका छन् । समुह चरणको खेलमा विजयी हुँदै चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल, रुद्रेपिपल माध्यमिक विद्यालय, आदर्श विद्यामन्दिर बोर्डिङ, गरिमा माध्यमिक माध्यमिक विद्यालय, सिदार्थ शिक्षा सदन र अमर आदर्श माध्यमिक विद्यालय क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
उद्घाटन खेलमा चिल्ड्रेन लाईफले सनराइज बोर्डिङ स्कुललाई ३–० गोलअन्तरले पराजित गर्यो । एकपक्षिय खेलमा चिल्ड्रेन लाईफको लागि खेलको छैठौं मिनेटमा प्रज्वल सुवेदीले गोल गरेका थिए । यस्तै २६ औं मिनेटमा आर्यन श्रेष्ठ र २८ औं मिनेटमा रितेश क्षेत्रीले गोल गर्दै जित पक्का गरेका थिए । शुक्रबारको दोस्रो खेलमा रुद्रेपिपल माविले विद्यामिन्दर माध्यमिक विद्यालयलाई २–१ गोलअन्तरले पराजित गर्यो । रुद्रेपिपलको लागि खेलको १३ औं मिनेटमा आयुस पौडेल र १६ औं मिनेटमा गणेश बोसेलले गोल गरेका थिए । विद्यामिन्दरको लागि एक मात्र गोल खेलको ३० औं मिनेटमा गणेश खत्रीले गरेका थिए ।
शुक्रबारको तेस्रो खेलमा आदर्श विद्यामन्दिर बोर्डिङले फ्युचर ब्राइटर बोर्डिङलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले पराजित गर्यो । खेलको १६ औं मिनेटमा फ्युचरका नितेश जिसीले गोल गर्दै टिमलाई अग्रता दिलाएपनि खेलको ३८ औं मिनेटमा आदर्शका अविशेक सापकोटाले गोल गर्दै खेललाई १–१को बराबरीमा पु¥याएका थिए । निर्धारित समयमा दुवै टिमबाट थप गोल हुननसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा आदर्श विद्यामन्दिरका यूकेन खत्री, सुजल शेरचन र दिप्सन शाक्यले गोल गरेभने फयुचरको लागि लप्सन खड्काले मात्र गोल गरेका थिए । चौथो खेलमा गरिमा माध्यमिक विद्यालयले न्यू एभरेष्ट एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्यो । गरिमाको लागि खेलको ९ औं मिनेटमा अप्सनले गोल गरेका थिए ।
पाचौं खेलमा सिदार्थ शिक्षा सदनले कालिगण्डकी बोर्डिङ स्कुललाई ३–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । एकपक्षिय खेलमा सिदार्थको लागि खेलको १८ औं मिनेटमा आयुस पाण्डे, २२ औं मिनेटमा अमृत कार्कीर ३९ औं मिनेटमा एलिक्स थापाले गोल गरेका थिए । यस्तै छैठौं खेलमा अमर आदर्श माध्यमिक विद्यालयले प्रिसियस एकेडेमीलाई टाइब्रेकर ४–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको ७ औं मिनेटमा अमर आदर्शका समिरले गोल गर्दै टिमलाई अग्रता दिलाएपनि खेलको २७ औं मिनेटमा प्राप्त पेनाल्टीमा प्रिसियसका कप्तान नुर कुँवरले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । २७ औं मिनेटमा अमर आदर्शका कप्तान प्रतिक थापाले गोल लाईनमा ह्याण्ड गरेपछि रातो कार्ड खार्दै बाहिरिएका थिए । निर्धारित समयमा दुवै टिमबाट थप गोल नभएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा अमर आदर्शको लागि अन्श, रिजन, दिवस र समिरले गोल गरेका थिएभने प्रिसियसको लागि नुर कुँवरले मात्र गोल गरे ।
प्रतियोगितामा बागलुङका १४ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता अन्तरगत भोली (शनिबार) क्वारटरफाइनलका खेलहरु हुने जिल्ला फुटबल संघका महासचिव रेशम गोतामेले जानकारी दिनुभयो । शनिबार पहिलो क्वाटरफाइनल खेल चिल्ड्रेन लाईफ बोर्डिङ र रुद्रेपिपल माध्यमिक विद्यालय, दोस्रो खेल आदर्श विद्यामिन्दर बोर्डिङ र गुराँस शिक्षा सदन, तेस्रो खेल गरिमा मावि र सिदार्थ शिक्षा सदन र अन्तिम क्वाटरफाइनल चौथो खेल अमर आदर्श मावि र न्यू ओयसिस एकेडेमीका विच हुने महासचिव गोतामेले जानकारी दिनुभयो ।
असोज १ गतेसम्म संचालन हुने प्रतियोगिताका खेलहरु नकआउट चरणमा खेलाइने अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताउनुभयो । शुक्रबार प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले गर्नुभएको थियो ।