बागलुङ, २३ भदाै । बागलुङको ताराखोला गाउँपालिकाको तारागाउँका मगर समुदायमा चार सय वर्षअघिदेखि मनाइँदै आएको परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा छ ।
मगर समाज ताराखोलाका अध्यक्ष झकबहादुर घर्तीमगरले यो पर्व मगर समुदायमा परम्परागत रूपमा पितृ उद्धारका लागि गरिने कुलपूजा भएको बताउनुभयो । यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजा गरिने उहाँले बताउनुभयो । मगर समुदायभित्रको पुरानो मौलिक संस्कृतिका रूपमा मनाइँदै आएको पर्वलाई युवा पुस्ताले पनि साथ दिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार पर्वको पहिलो दिन गाउँका बुढापाकाले घर र बाटोघाटो सरसफाइ गरे । दोस्रो दिनको सरसफाइमा पाका पुरानासँग अविवाहित युवकयुवतीसमेत मिसिए । तेस्रो दिन भिस्टल्ला भन्ने ठाउँमा मही चढाए र बाँडेर खाए । चौथो दिन युवकयुवतीबिच सिस्नो खोसाखोस गरियो ।
समाजका अध्यक्ष घर्तीमगरले भन्नुभयो, “सोमबार साँझदेखि विधिवत् रूपमा पूजा सुरु हुन्छ, राति राँगा र भोलिपल्ट सुँगुरको बलि दिइन्छ । चौथो दिन सुँगुरको साप्रोलाई हरियो सिस्नाको मुठाभित्र बाँधेर अविवाहित युवकयुवतीद्वारा खोसाखोस गरिन्छ ।” कुलघरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम)
ढुङ्गामा सुँगुरको बलि दिइन्छ । उल्टो पारेर लिङ्गोमा झुन्ड्याइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटु पनि झिकेर लिङ्गोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बलि दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी गरिन्छ ।
यसपालि पनि उनीहरूले चार दिनसम्म यो पर्व भव्य रूपमा मनाए । युवकयुवतीबिच सिस्नो खोस्ने कार्यव्रmम निकै रमाइलो हुन्छ । शनिबारदेखि सुरु भएको पर्व मङ्गलबार अविवाहित युवकयुवतीबिच सिस्नो खोसाखोस गरेर समापन गरियो ।
झन्डै चार सय वर्षअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पुर्खाले पर्वको प्रचलन बसालेको समाजका अध्यक्ष घर्तीमगरले बताउनुभयो । गाउँलेले पर्वलाई पुर्खाको नासोका रूपमा लिन्छन् । पर्व जोगाउन बुढापाकादेखि युवा पुस्ताको सव्रिmयता र सहभागिता रहँदै आएको उहाँ बताउनुहुन्छ ।
मगर समुदायको मौलिक संस्कृति र पहिचान जोगाउने दायित्व युवा पुस्ताको भएकाले सिस्नो खोस्ने पर्वमा सहभागी भएको तारागाउँकी शर्मिला रोकामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “सिस्नो खोस्ने पर्वलाई युवकयुवतीबिच भेटघाट हुने र आत्मीयता बढाउने अवसरका रूपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवकयुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास छ ।”
बलि दिइएको सुँगुरको साप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ । एकाथरी ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछि पछि सुँगुरको साप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाको जमात हुन्छ । समूहमा ‘आयो आयो’ भन्दै गीत गाउने प्रचलन रहेको रोकाले बताउनुभयो ।
मौलिक वेशभूषामा सजिएर सिस्नो खोस्न युवती तम्तयार हुन्छन् । हातमा सिस्नो समातेका युवकयुवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साप्रो खोस्न युवती होमिन्छन् । अनि सुरु हुन्छ, दुवैतिर सिस्नो तानातान र खोसाखोस ।
यो दृश्य निकै अनौठो र रोमाञ्चक देखिन्छ । युवकयुवतीबिच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । जसले जिते पनि सुँगुरको साप्रोको मासु प्रसादका रूपमा सबैले मिलेर खाने प्रचलन रहेको मगर समाज तारागाउँका अध्यक्ष घर्तीमगरले बताउनुभयो । पर्वको मौलिकता जोगाउन र संरक्षण गर्न समाजले काम गरेको उहाँको भनाइ छ ।