बागलुङ, १९ भदौ । जेसीज बागलुङले जेसीज सप्ताह २०२३ मनाउने भएको छ । जेसीज बागलुङले मंगलबार पत्रकार सम्मेलन गरी भदौ २३ गतेदेखि २९ गतेसम्म जेसीज सप्ताह २०२३ संचालन गर्ने जानकारी दिएको हो ।
प्रत्येक वर्ष गरिदै आएको जेसीज सप्ताह अन्तरगत यस वर्ष ‘सात दिन, सात कार्यक्रम’ संचालन गरिने जेसीज वर्ष २०२३÷२४ का अध्यक्ष सौरभ श्रेष्ठले जानकारी दिए । उनले जेसीजले युवाहरुको नेतृत्व विकासमा काम गर्ने बताउँदै सोही अनुरुप कार्यक्रमहरु राखिएको बताए ।
जेसिजले युवा सम्मान, स्लो बाइक रेस, रमपम नृत्य प्रत्योगिता, लागुऔषध विरुद्ध सचेतना कार्यक्रम, भिरलाङ्खुरी हाइकिङ तथा प्रभावकारी भाषण कला तालिम, फुटसल प्रतियोगिता र बक्तृत्कला लगायतका कार्यक्रम गरेर जेसीज सप्ताह मनाउन लागेको जेसीज बागलुङका कार्यकारिणी उपाध्यक्ष एवं जेसीज सप्ताह २०२३ का मुल संयोजक गणेश महतोले बताए । उनले कार्यक्रम संचालनको लागि कार्यक्रम संयोजकहरु चयन गरिएको जानकारी दिए ।
मुल संयोजक महतोले भदौ २३ गते उद्घाटन समारोह तथा युवा संचालन कार्यक्रम, २४ गते स्व. सत्यदेवी स्मृति स्लो बाइक रेस प्रतियोगिता, २५ गते रमपम नृत्य प्रतियोगिता, २६ गते लागुऔषध विरुद्ध सचेतना कार्यक्रम, २७ गते भिरलाङ्खुरी हाइकिङ तथा प्रभावकारी भाषण कला तालिम, २८ गते फुटसल प्रतियोगिता र २९ गते समापन समारोह तथा प्रगति स्मृति बक्तृत्वकला प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रम हुने जानकारी दिए । उनले अन्तर विद्यालय स्तरीय रामपम नृत्य प्रतियोगितामा (+२) र १० कक्षासम्मको छुट्टाछुट्टै हुने बताए । उक्त प्रतियोगिताको प्रथमले ७ हजार रुपैयाँ र द्धितियले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्लो बाइक रेस प्रतियोगितामा महिला र पुरुष विजेताले ३/३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै फुटसल प्रतियोगितामा जेसीज बागलुङ, नेपाल पत्रकार महासंघ बागलुङ, बैकर्स बागलुङ र रोट्रयाक क्लब बागलुङको सहभागिता रहने आयोजकले जनाएको छ ।
सप्ताह संचालनको लागि २ लाख ६६ हजार ३२ रुपैयाँ आर्थिक खर्च हुने अनुमान गरिएको बताए । उनले खर्च व्यवस्थापनको लागि बागलुङ नगरपालिकामा आर्थिक सहयोग मागिएको र क्लबमा रहेका दुई वटा कोष र पदाधिकारीहरु र कार्यक्रमका संयोजकहरुबाट आर्थिक संकलन गरिने बताए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय रानाले जेसीजले सामाजिक क्षेत्रमा गर्दै आएको काम निकै सह्रानीय भएको बताए । जेसीज बागलुङ वर्ष २०२३/०२४ का अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव अन्जिला श्रेष्ठले गर्नुभएको थियो ।