कागबेनीमा बाढी : २९ घर र ५ पुल बगे

जोमसोम, २९ साउन । कागबेनीमा आइतबार राति कागखोलामा आएको बाढीले ठूलो क्षति तुल्याएको छ । बाढीले २९ घरसहित १२ वटा सवारी साधन पूर्णरुपमा क्षति पुर्‍याएको छ । बाढीले स्काभेटर समेत बगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

कागखोलाको बाढीले कागबेनी गाउँको १३ वटा घरमा आशिंक क्षति पुगेको छ भने ९ वटा गोठ पूर्ण रुपमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक पौडेलले उल्लेख गरे । यसैगरी  कागबेनी गाउँ जोड्ने ३ वटा अस्थायी पुल ,एक जोमसोम—कोरला जोड्ने पक्की पुल र कागबेनी—तिरी गाउँ जाने झोलुङ्गे पुल बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बाढीले प्रसिद्ध धार्मिक कागबेनी श्राद्धस्थल पुरै बगरमा परिणत भएको प्रहरी नायव उपरीक्षक पौडेलको भनाइ छ । कागबेनीमा भक्तजनले स्नान गर्ने,श्राद्ध तथा पीण्दान र तपर्ण दिने, श्राद्धस्थलको मन्दिर र एक धर्मशाला बाढीले पनि बगाएको छ ।

बाढीले प्रहरी चौकी भवन,आमा समूह र युवाक्लबको भवन ,स्वास्थ्य कार्यालय रहेको भवन,प्रभु बैंक रहेको घर बाढीले बगाएको हो । कागखोला दक्षिण—पूर्वको कागखोला तटीय क्षेत्रमा रहेको होटल,पसल,रेष्टुरेन्ट र बैक तथा वित्तिय संस्था रहेको घर सबै बाढीले बगाएको हो ।

बाढीले सवारी साधनबाहेक ५६ वटा भन्दा भौतिक संरचना पूर्ण र आशिंक क्षति तुल्याएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नाम्गेल गुरुङले जानकारी दिए । कागखोला बाढीले भौतिक संरचना बाहेक कति धनमालको क्षति भयो भन्ने विवरण एकिन गर्न केही दिन लाग्ने उनले बताए ।

यसअघि कागबेनी खोला थुनिएपछि कागखोला तटीय क्षेत्रका स्थानीयलाई प्रशासन,प्रहरी र स्थानीय तहले सूचना संम्प्रेषण गरी सुरक्षित स्थानमा पुर्‍याइएको थियो । यसैका कारण कागबेनीमा बाढीका कारण मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ ।

बाढीले विद्युत र टेलिफोन र इन्टरनेट पोलमा समेत क्षति पुर्‍याएको थियो । आइतबार रातिको समयमा शाखा नदी थुनिएकाले स्थानीयलाई उद्दार र धनमाल थन्क्याउने असहज परेको थियो । बैंक तथा वित्तिय संस्थाको नगद समेत बाढीले बगाएको बताइएको छ ।

कागबेनीधाममा बाढीले क्षति पुर्‍याएपछि जोमसोमबाट प्रमुख जिल्ला अधिकारी अनुप केसीसहित ३ वटै सुरक्षा निकायको टोली बाढीग्रस्त क्षेत्र कागबेनीमा पुगेर उद्दारमा खटिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here