
बागलुङ, २४ साउन । बागलुङ जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्णुप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।
मंगलबार भएको बागलुङ जिल्ला क्रिकेट संघको प्रथम बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कमल पन्त, सचिवमा फणिन्द्र बहादुर खड्का र कोषाध्यक्षमा सन्तोष शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा डिल बहादुर केसी, दिपेन्द्र खड्का, अर्जुन कार्की, अभिषेक कट्वाल क्षेत्री, गणेश महतो प्रदिप खत्री र खिम बहादुर थापा चयन भएका छन् ।
मंगलबार भएको बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै गण्डकी क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले विधानसम्बत रुपमा समिति गठन गरिनुपर्ने बताउनुभयो । उहाँले क्रिकेट संघको विधान आइसिसिबाट नै पारित भएको हुँदा अरु संघको जस्तो जो पनि सदस्य हुन नसक्ने र क्रिकेट संघको सदस्यको लागि निश्चित मापदण्ड पुरा गर्नुपर्ने भएकाले काम गर्नेहरु मात्र संघमा आवद्ध हुन सक्ने बताउनुभयो ।
उद्घाटनसत्र कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल र एजिल स्पोर्टस् एकेडेमीका संचालक तथा जिल्ला क्रिकेट संघ बागलुङका सदस्य खिम छन्त्यालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बागलुङ जिल्ला क्रिकेट संघ तदर्थ समितिका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको उद्घाटनसत्रमा जिल्ला क्रिकेट संघको बारेमा उपाध्यक्ष कमल पन्तले प्रकाश पार्नुभएको थियोभने सदस्य अविषेक कट्वालले स्वागत मन्तव्य र सदस्य गणेश महतोले संचालन गर्नुभएको थियो ।
बागलुङमा २०७४ सालमा जिल्ला क्रिकेट विकास समिति गठन गरिएको थियो । उक्त समितिलाई तदर्थ समितिको रुपमा नेपाल क्रिकेट संघ (क्यान)ले २०७९ फागुनमा सदस्यताको मान्यता प्रदान गरेको थियो ।