प्रहरी इन्चार्ज मृत्यु प्रकरणः पोष्टमार्टमका लागि शव धौलागिरी अस्पताल लगिदै

होटल संचालक आमा, छोरा पक्राउ
बागलुङ, ९ साउन । इलाका प्रहरी कार्यालय भिमगिठेका वरिष्ठ सइ उज्वल पौडेलको शव परिक्षण (पोष्टमार्टम) का लागि बागलुङ बजारमा रहेको धौलागिरी अस्पताल लगिएको छ ।B

सोमबार राती बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा पौडेल मृत्त फेला परेका इन्चार्ज पौडेलका परिवार मंगलबार दिउँसो घटनास्थल पुगेपछि मुझुल्का गरेर पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (प्रहरी उपरीक्षक) योगेन्द्र कुमार खड्काले बताए । उनले शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरी अस्पताल र नभए पोखरा समेत पाठाइने बताए ।

प्रहरीले घटनाको सोधपुछको लागि होटलका संचालक आमा अन्दाजी ५० बर्षिया आशा कुँवर र उनका छोरा २१ बर्षिय विनोद कुँवरलाई नियन्त्रणमा लिएको छ । दुवै जनालाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ बजार लगिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

घटनास्थलको अनुशन्धानपछि बोल्दै प्रहरी उपरीक्षक खड्काले इन्चार्ज पौडेलको मृत्यु शंकास्पद देखिएको र के कसो भन्ने कुरा थप अनुशन्धानपछि खुल्ने बताए । उनले घटनास्थलको अवस्था हेर्दा प्रस्ट देखिने चोट खासै नभएपनि पौडेलको नाकमा कोतारेको र घाँटीमा डाम देखिएको जानकारी दिए । उनले पोष्टमार्टम रिपोर्ट र घटनाको थप अनुसन्धानपछि मृत्युको कारण खुल्ने बताए ।

घटना सोमबार राती साढे १२ र १ बजेको विचमा भएको हो । पौडेल सोमबार बेलुका साढे ८ बजे होटलमा पुगेका थिए । राती सवा १ बजे झगडा परेको भन्ने खबर भएपछि इलाका प्रहरी कार्यालय भिमगिठेको टोली पुग्दा इन्चार्ज पौडेल मृत्त फेला परेको प्रहरी उपरीक्षक खड्काले बताए । ‘स्थानीय प्रहरीलाई राती सवा १ बजे झगडा भएको भन्ने खबर पुगेको रहेछ,’ प्रहरी उपरीक्षक खड्काले भने,‘घटनाको जानकारी पछि स्थानीय प्रहरी इलाका प्रहरी कार्यालय भिमगिठेको टोली र रातीको २ बजे इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली पुगेर घटनास्थल शिल गरेको हो ।’

घटनाको अनुशन्धानको लागि मंगलबार विहान जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक खड्काको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेर मुझुल्का उठाउनुको साथै थप अनुशन्धान सुरु गरिसकेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here