संचार माध्यम खोल्ने पहिलो सहकारीः आदर्श संचार

प्रकाश बराल
बागलुङ, २ साउन । बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरु त प्रसस्तै खुलेका थिए । तर बागलुङमा सूचना तथा संचार सहकारी थिएनन् । अझ सहकारीबाट संचारमाध्यम खुल्छन् भन्ने धेरेको कल्पना भन्दा बाहिरको कुरा थियो ।

जनआन्दोलन २०६२/२०६३ ले आम नागरिकमा संचार माध्यमको क्रेज अत्याधिक बढाएको थियो । केही धनाड्यहरुले लगानी गरेर संचार माध्यम खोलेर बिज्ञापन बजारलाई लगभग कब्जामा राखेका थिए । त्यही समयमा बागलुङका ३२ जना शेयर सदस्य मिलेर १० हजारको दरले शेयर रकम संकलन गरेर ३ लाख २० हजार रुपैयाँमा सानो पूँजिबाट महिला नेतृ मनकुमारी जिसीको अध्यक्षतामा खुल्यो आदर्श संचार सहकारी संस्था ।

पत्रपत्रिका, एफएम र टेलिभिजन जस्ता संचार माध्यम नै संचालन गर्ने उद्देश्य सहकारी खुलेको थियो भन्नुहुन्छ संस्थापक सचिव रामबहादुर जिसी । उद्देश्यमा राखे अनुसार २०६३ को मंसिर २७ मा स्थापना भएको सहकारी दर्ता गर्न जाँदा प्रशासनले सहकारीलाई प्रकाशन बस्न दिएन । शुरुवातमा सम्पादक प्रकाशक बसेर रामबहादुर जिसीकै नेतृत्वमा अर्ध साप्ताहिक पत्रिका धौलागिरि जागरण प्रकाशन गरियो । बिभिन्न संचार माध्यममा काम गरेर स्थापित भैसकेका पत्रकार नै प्रकशक सम्पादक भएकोले सहकारी माथी विश्वास नगरेको प्रशासन भन्दा आम पाठकले जिसीलाई विश्वास गरे । बागलुङ जस्तो स्थानमा दैनिक पत्रिका प्रकाशित भएर आम जनताको घरदैलोमा पुगेपछि बिज्ञापन बजार पनि बढ्न थाल्यो । सहकारी संस्थाप्रतिको विश्वास समेत बढेपछि मात्र प्रशासनले सहकारीको उद्देश्यलाई स्विकार ग¥यो ।

तत्कालिन समयमा बागलुङमा खुलेको सहकारी डिभिजन कार्यालयले पनि उद्देश्यमा काम गर्न प्रेरित गरेपछि मात्र धौलागिरि जागरण दैनिकको प्रकाशकमा आदर्श संचार सहकारी संस्था सूचिकृत भएको थियो ।

शुरुवातमा धौलागिरि जागरण पत्रिका अर्ध साप्ताहिक थियो । साताको दुइ दिन संचालन गर्दा अप्ठ्यारो थियो । तरपनि एउटा अभ्यास भने गरेर देखाएको थियो । त्यसपछि धौलागिरि जागरण २०६५ साल जेठ १ गतेबाट दैनिक पत्रिका बनेर संचालनमा आएको छ । कतिपय समय त आजको समाचार आजै भन्ने शिर्षकमा समेत धौलागिरि जागरण दैनिकमा पढ्न पाइन्थ्यो । बिहान भएको कार्यक्रमको तस्बिर दिउसै छापिएको देख्न पाइन्थ्यो । अनलाइन प्रणाली शुरु नभएको समयमा आजको समाचार आजै भन्ने कुरा निकै आर्कषक र नयाँ थियो । प्रशासनमा कुरा बुझाएपछि मात्र सहकारी संस्था नै प्रकाशक बनेर दैनिक पत्रिका संचालनमा आउन थाल्यो । धौलागिरि क्षेत्रमै यसरी सहकारी संस्था प्रकाशक भएर संचार माध्यम चलेको पहिलो अबसर थियो ।

पत्रकार र संचारकर्मीले तलब थोरै पाउँछन् । नियमित पाउँदैनन् भन्ने हल्ला आदर्शले चिरेको छ । संचार माध्यममा काम गर्नेलाई साहुले थोरै तलब दिन्छन् भन्ने हल्लाबाट मुक्त भएर आदर्श संचार सहकारीले नियमित तलब खाने पत्रकार पनि हुन्छन् भन्ने देखायो । त्यतिमात्र हैन काम गर्ने पत्रकार, बजार प्रतिनिधि र बितरण समेत सहकारीका शेयर सदस्य थिए । जसका कारण मजदुर र मालिक भन्ने भेन समेत रहेन ।

सहकारीका सिद्दान्त पालना गर्दै पत्रिका प्रकाशन गरिरहेको सहकारीमा शेयर सदस्य बढ्ने क्रमपनि शुरु भयो । सहकारीले आफ्नो उद्देश्यमा थप गरेर २०७६ सालबाट आदर्श अनलाइन समेत संचालनमा ल्याएको छ । धौलागिरि क्षेत्रकै पहिलो संचार सहकारी र पहिलो पटक पत्रिका पनि प्रकाशन गरेकोले धेरैलाई नौलो लागेपनि आदर्श अहिले स्थापित भैसकेको छ । दर्तामै अप्ठ्यारो भोगेको सहकारी प्रति धेरैले नकारात्मक दृष्टीकोण बनाएपनि समस्या चिर्दै अगाडि बढ्दा सहकारीकै अग्रणी बन्न सकेको छ भन्नुहुन्छ अध्यक्ष हुमाकुमारी जिसी । अहिले सहकारीमा आएको नकारात्मक धारणालाई पनि आदर्शले चिरेको छ ।

सहकारी संस्थामा आफ्नै पोशाक, संचार कर्मीले पनि पोशाक पाउने व्यवस्था समेत भएर संचालन भएको समेत यो नौलो अभ्यास हो । पछिल्लो सहकारीबाट चलेका अन्य एफएम लगायतका संचार माध्यमले पनि पोशाकमा ध्यान दिएका छन् । तर आदर्शले देखाएको बाटोले पत्रकारहरु पनि स्मार्ट बनेर हिड्न सक्छन् भन्ने सन्देश भने दिएको पत्रकारका नेतृत्व नै बताउँछन् । कुनैपनि सहकारीले संचार सहित बचत र ऋणको कारोवारपनि नियमित गरेकोले आर्थिक रुपमा पनि समस्या नभएको उहाँको भनाइ छ । सहकारीले दिनदिनै बचत ऋण र कारोवार बढाउँदै लैजाँदा शेयर सदस्य समेत बढेका छन् । हाल यो सहकारीमा ३ हजार ४ सय शेयर सदस्य, ५ करोड ६४ लाख शेयर रकम पुगेको छ । सहकारीले ३५ करोड लगानी गरेको छ भने २५ करोड बचत छ । अहिले पनि सहकराीमा ६० लाख जोखिम कोष, १ करोडको जगेडा कोष, ३ करोड दिर्घकालिन बचत छ । हरेक बर्ष ३ करोड ५० लाख व्याज समेत कमाउने सहकारीले असार मसान्तमा एकैपटक फिर्ता रकम माग्दापनि ५ करोड मात्रको दायित्वमा रहने गरी सिस्टम मिलाएको सम्पादक रामबहादुर जिसी बताउनुहुन्छ ।

उद्देश्य अनुसार धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक र आर्दश अनलाइन हाल पनि संचालन भैरहेको छ । सामान्यतया सहकारी संस्थाको साधारणसभामा प्रस्तुत हुने प्रतिवेदन सामान्य कामको गतिविधि मात्र समावेश गरिएको हुन्छ भने आदर्श संचार सहकारीले पत्रकारिता, तालिम, पत्रकार उत्पादन र पत्रकारिताको बिकास बारेको बिषय समावेश हुने गरेको छ । आदर्शको अनुशरण गर्दै बागलुङमा हाल दर्जन संचार सहकारी खुलेका छन् । ती सहकारी मध्ये केहीले संचार माध्यम संचालन गरेका छन् । सहकारी जोडिंदा श्रोतको निश्चितता र निरन्तरता कायम रहने हुदा पत्रकार र कामदारले तलब पाएनन् भन्ने नकारात्मक सन्देश पनि गएन ।

हाल बढेको सहकारी प्रतिको नकारात्मक धारणा मेटाउन पनि आदर्श सफल भएको छ । बागलुङमा दर्ता नै नभएका इमेज बचत तथा ऋण सहकारी र शिवशिखर बहुउद्धेश्यीय सहकारी संस्थामा आएको बिचलनले बागलुङबासी केही समय स्तब्ध भए । ती सहकारीमा कारोवार गर्नेहरु स्तब्ध हुने कुरा नौलो भएन । अन्य सहकारी संस्थामा पनि बचत फिर्ता माग्न जानेको लर्को लाग्यो । तर आदर्शले त्यो समस्या छैन भन्ने कुरा शेयर सदस्यमा बुझाउन सक्यो । फलस्वरुप सहकारीमा अहिले बचतकर्ताको कुनै दवाव समेत छैन । सहकारीले नियमित रुपमा नेतृत्व परिवर्तन गरेको छ । संस्थापक अध्यक्ष मनकुमारी जिसी तीन कार्यकाल अध्यक्ष भएपनि त्यसपछि बनेको बिनियमले दुइ कार्यकाल मात्र बस्न पाउने व्यवस्था गरेको छ । जस अनुसार अमर थापा एक कार्यकाल अध्यक्ष हुनुभयोभने हुमाकुमारी जिसी दोश्रो कार्यकालमा अध्यक्ष हुनुहुन्छ । यहाँ व्यवस्थापकीय काम निरन्तर र सिस्टममा भएको तथा आम शेयर सदस्यको चासोले सहकारीप्रतिको विश्वास बढेको जिसी बताउनुहुन्छ । ‘अहिले पनि धेरै शेयर सदस्यले सहकारी बलियो बनाउन के गरौं भनेर सहयोग गर्न आउनु भएको छ’ जिसीले भन्नुभयो, ‘हाल आएको नकारात्मक धारणा र अविश्वासलाईपनि हामी जस्तै स्थानीय र अग्रणी सहकारीले चिर्ने हो ।’ पत्रपत्रिकाबाट आउने बिज्ञापनबाट समेत सहयोग पुग्दा संचार सहकारी संस्था बलियो बनेको समेत उहाँको भनाइ छ । पछिल्लो समयको अविश्वास चिर्नकालागि पनि स्थनीय सहकारीले थप मेहेनत गरेर सहकारी क्षेत्रको तरलता बढाउने र बचतकर्ताको विश्वास लिने काम समेत थालेको देखिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here