नेपालले दियो सिंगापुरलाई बलियो लक्ष्य

काठमाडौं, १८ असार । मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

नेपालका लागि ओपनिङ ब्याटर सूर्यांशु कोइरालाले ४९ बलमा ६ चौकासहित ४३ रनको इनिङ खेले । यस्तै, अर्का प्रारम्भिक ब्याटर निरजकुमार यादवले ४९ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४२ रन बनाए ।

कप्तान अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, प्रतीक भट्टराई, दीपु कुमारले १२/१२ र कृतिक कामतले १० रन जोडे । सिंगापुरका लागि हरिहणले सर्वाधिक ३ विकेट लिए ।

समूह चरणमा नेपाल अपराजित रहेको नेपाल आज सिंगापुरलाई हराउँदै उपाधि नजिक पुग्न चाहन्छ । नेपालले समूह चरणमा थाइल्याण्डलाई २२५ तथा मलेसियालाई ८४ रनले हराएको थियो ।

यस्तै, सिंगापुरले इन्डोनेसियालाई १०४ र माल्दिभ्सलाई २४५ रनले हराउँदै सेमिफाइनलको यात्रा गरेको थियो । ऊ हङकङसँग भने ७ विकेटले पराजित भएको थियो ।

आजै हुने अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसिया प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।

हालसम्म नेपालले लगातार दुईपटक यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ । यसपटक नेपाल उपाधि ह्याट्रिक गर्ने योजनामा छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here