बागलुङमा फोहोरको स्थायी व्यवस्थापनमा सकस

बागलुङ, २९ माघ । बागलुङका चार नगरपालिकाले फोहोर फाल्ने स्थायी संरचना बनाउन सकेका छैनन् । नयाँ बनेका नगरपालिकाले पाँच बर्षदेखि अस्थायी रुपमा फोहोरको व्यवस्थापन गदै आएका हुन । जिल्लाकै जेठो बागलुङ नगरपालिकाले अस्थायी संरचना तयार गरी फोहोर व्यवथापन गरे पनि स्थायी संरचना छैनन ।

झण्डै १२ बर्षसम्म कालीगण्डकी नदीमा फोहोर फालेको बागलुङ नगरपालिकाले उच्च अदालत बागलुङको आदेशपछि ठाँउ फेरेर विस २०६७ सालदेखि बागलुङ नगरपालिका–१ मालढुङ्गा काठेखोलाको छेउ खुतुर्केमा फोहोर विसर्जन गर्दै आएको छ ।

पछिल्लो दशकदेखि नगरपालिकाले फेरि कालीगण्डकी करिडोर रहेको वडा नं. १ को खुर्तुर्केमा फाल्न थालेको थियो । यो स्थान भरिएर दुर्गन्धित भैसकेको छ । तर व्यवस्थित ‘ल्याण्डफिल्ड साइट’ बनाउने योजनाले पूर्णता पाउन सकेको छैन । कहिले बजेट अभाव, कहिले स्थानीयको सहमति नभएको भन्ने तथा कहिले डिपिआर बनाउने भन्दै काम अगाडि नबढेको हो ।

हाल फोहोर फालिएको स्थानबाट कालीगण्डकी करिडोर र मालढुंगा कुश्मीसेरा सडकमा नियमित सवारी गुड्छन् । यात्रुहरु नाक थुन्दै यात्रा गर्न बाध्य छन् । अहिले पनि बजेट अभावमा त्यो काम अलपत्र भएको नगरपालिकाको भनाई छ ।

नगरपालिकाले फोहोरबाट नकुहिने बस्तुको निकासी ठेक्का लगाउने गरेको छ । स्थायी ल्याण्डफिल निर्माण नहुञ्जेलका लागि भन्दै फालिए पनि अर्को व्यवस्था अझै अन्यौल भएको हो । दश बर्षअघि दुई करोड लागतमा बनाउने भनिएको स्थायी ल्याण्डफिल्डको डिजाईन गरेपछि सहयोगका लागि स्थानीय विकास मन्त्रालयमा माग भएको थियो । उक्त लागत स्टिमेट भएको दशक भैसकेकोले पुनः अर्को लागत स्टिमेट र योजना बनाउनु पर्ने नगरपालिकाले जनाएको छ ।

“व्यवस्थित फोहोर व्यवस्थापन र ढल निकासको योजना बनाएका छौं, तर डिपिआरमा फरक परेकोले संशोधनमा गएको छ” नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भन्नुभयोे, “सफा नगर बनाउने काममा अगाडि बढेका छौं ।”

डिजाईन अनुसारको साइट निर्माण भएमा ११ रोपनी जमिनमा फोहोर व्यवस्थापन हुनेछ । जैमिनी नगरपालिकाले पनि सडककै छेउमा फोहोर फाल्दै आएको छ । दैनिक सयौं सर्वसाधारण ओहोर दोहोर गर्ने जैमिनी धाम कुश्मीशेरा सडकको छेउमा फोहोर फालिने गरेको छ । ठेउलेखोला किनारमा पर्ने सोत भन्ने स्थानमा अव्यवस्थित फोहोर फाल्दा जैमिनी नगरपालिका–१ कुश्मीशेराको टार गाउँमा दुर्गन्ध पुग्ने गरेको स्थानीय शोभाप्रसाद शर्माले बताउनुभयो ।

गलकोट नगरपालिकाले फोहोर व्यवस्थापनका लागि जग्गाको खोजी र संरचना निर्माणको काम गरिरहेको भएपनि फोहोर भने स्थानीय खोला किनारमानै फालिने गरेको छ । खोलामा अव्यवस्थीत फोहोरका कारण गलकोटको हटिया बजार दुर्गन्धीत हुने गरेको छ ।

ढोरपाटन नगरपालिकाले पनि बुर्तिबाङ बजारको फोहोर व्यवस्थापनका लागि स्थायी संरचना बनाएको छैन् । नयाँ घोषण भएका नगरपालिकाको केन्द्रमा बस्ती विस्तार तथा बजारीकरण तिव्र रुपमा बढे पछि फोहोर र ढलको उचित निकास नहुँदा समस्या हुँदै आएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here