आचारसंहिता उल्लङ्घन गरेर चुनाव प्रचारमा बागलुङका जनप्रतिनिधि

बागलुङ, १४ कार्तिक । बागलुङका स्थानीय तहका कार्यपालिका पदाधिकारी र सदस्यहरु निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रसारप्रसारको दौडधुपमा व्यस्त भएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता विपरीत स्थानीय तहका जनप्रतिनिधि (कार्यपालिका पदाधिकारी र सदस्य)हरु आफ्ना पार्टीका उम्मेदवारहरुका लागि भोट माग्ने अभियानमा होमिएका हुन् ।

निर्वाचन आयोगले असोज २६ गते विज्ञप्ती प्रकाशित गरि निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफु निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने साथै आफु निर्वाचित भएका स्थानीय तह बाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदी)को प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहुने गरी संलग्न हुन सकिने व्यवस्था गरेको जनाएको छ । तर, बागलुङका अधिकांश स्थानीय तहका कार्यपालिका सदस्यहरु आफु आवद्ध राजनीतिक दलको उम्मेदवारको प्रचारप्रसारमा सरिक भएका छन् ।

बागलुङ क्षेत्र नम्बर २ का नेकपा माओवादीबाट सत्ता गठबन्धनका उम्मेदवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, प्रदेशसभा (क)का उम्मेदवार नेपाली काँग्रेसका जित बहादुर शेरचन र प्रदेशसभा (ख)का उम्मेदवार दोर्ण बहादुर कुँवरको लागी भोट माग्नको लागि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे शनिबार उनीहरुसँगै घरदैलोमा भोट माग्न पुगेका छन् । यस्तै शुक्रबार बडिगाड गाउँपालिकामा भएको सत्ता गठबन्धनका उम्मेदवार सहितको घरदैलोमा कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा र वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बहादुर केसी उपस्थित भएका थिए । यस्तै निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्ती समेत उम्मेदवारको प्रचारप्रसार कार्यक्रममा हिडेका छन् ।

यस्तै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली समेत क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मञ्जु शर्मा चालिसे, प्रदेशसभा (ख)का उम्मेदवार लक्ष्मण पुनको चुनावी प्रचारप्रसारका कार्यक्रममा हिडेका छन् । नगरप्रमुख नेपालीले तमानखोला गाउँपालिकामा पुगेर आर्थिक प्रलोभन देखाएको भन्दै जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिमा उजुरी परेपछि उनलाई स्पष्टिकरण सोधिएको छ ।

आयोगले स्थानीय तहको कार्यपालिका पदाधिकारी र सदस्यहरुले निर्वाचत आचारसंहिता विपरीात कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कारर्वाही गिर्न स्पष्टीकरण सोधी तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख)लाई निर्देशन दिएको छ । कारवाही प्रक्रिया अघि बढाउन आवश्यकता अनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यालयले आवश्यक सहजीकरण र सहयोग गर्ने जनाइएको छ ।

आचारसंहिता मिचेर गाउँपालिका अध्यक्षले गरे सवारी दुरुपयोग
बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले निर्वाचन आचार संहिता उलंघन गर्दै सरकारी सवारी साधनको दुरुपयोग गरेका छन् । थापाले काठेखोला गाउँपालिकाको नाममा रहेको ध १ झ १५ नम्बरको सेतो प्लेट रहेको सवारी साधन निर्वाचन प्रचारमा प्रयोग गरेका हुन् ।

सोमबार काठेखोला गाउँपालिका–१ पालामा थापा चुनावी प्रचारका लागि सोही गाडी चडेर पुगेका थिए । आफ्नै स्थानीय तहमा जनप्रतिनिधिले मत माग्न नपाईने र अन्य पालिकामा कुनै दल वा उमेद्वारका लागि मत माग्न जाँदा समेत सरकारी सवारी साधनको प्रयोग गर्न नपाईने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

थापा आफ्नै गाउँपालिका भित्र सत्ता गठबन्धनका उमेद्वार चित्र बहादुर केसी र दिपेन्द्र थापालाई सँगै लिएर मत माग्न पुगेका हुन । चुनावी अभियानमा सहभागि नेता कार्यकर्ता सहित घरदैलोमा पुगेका थापाले आँफु चुनाव प्रचारको लागि नभई पालिकाको कामले त्यहाँ पुगेको दावी गर्ने गरेका छन् ।

यस्तै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा समेत गठबन्धनका उम्मेदवारसँगै घरदैलो कार्यक्रममा सहभागि भएका छन् । थापा आईतबार वडा नम्बर २ भीमापोखरामा भएको घरदैलो कार्यक्रममा उम्मेदवारहरुसँगै हिडेका थिए ।

आचारसंहिता अनुगमन समितिद्वारा चार जनालाई स्पष्टिकरण माग
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति बागलुङले आचारसंहिता उल्लंघनको आरोपमा चार जनालाई स्पष्टिकरण सोधेको छ । आचारसंहिता उल्लंघन भएको भन्ने उजुरीको आधारमा चार जनालाई स्पष्टिकरण सोधिएको अनुगमन अधिकृत रहेका रहेका कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका प्रमुख धर्मभत्त बस्यालले बताए ।

बस्यालले निर्वाचन आचारसंहिता उल्लंघन गरेर सरकारी सवारीको दुरुपयोग गरेको आरोपमा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई र मतदातालाई आर्थिक प्रलोभन देखाएको आरोपमा नेकपा एमालेकी उम्मेदवार मञ्जु शर्मा चालिसे, प्रदेशसभा (ख)का उम्मेदवार लक्ष्मण पुन र ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई स्पष्टिकरण सोधेको हो । समितिले कार्तिक ७ गते २४ घण्टे स्पष्टिकरण माग गरेपनि शनिबारसम्म तीन जनाले मात्र स्पष्टिकरण बुझाएको अनुगमन अधिकृत बस्यालले बताए ।

अनुगमन अधिकृत बस्यालले क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवेन्द्र पौडेल, मञ्जु शर्मा र क्षेत्र २ प्रदेशसभा (ख)का उम्मेदवार लक्ष्मण पुनले स्पष्टिकरण बुझाएकोको र नगरप्रमुख देवकुमार नेपालीले नबुझाएको बताए । उनले स्पष्टिकरणको अध्ययन लागि जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले गर्ने बताए । ‘तीन जनाको स्पष्टिकरण उपलब्ध भएको छ,’ अनुगमन अधिकृत बस्यालले भने–‘जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक मुख्य निर्वाचन अधिकृत डा. डा. दिवाकर भट्ट जिल्ला बाहिर हुनुहुन्छ उहाँ आएपछि अध्ययन भएर प्रक्रिया अगाडी बढाउछौं ।’

निर्वाचन आचारसंहिताको पालना सवैले गर्नुपर्ने अनुगमन अधिकृत बस्यालले बताए । ‘निर्वाचन आयोगले केन्द्रीय सरकार र प्रदेश सरकारका मन्त्री, स्थानीय तहका कार्यपालिका पदाधिकारी र सदस्यहरु, उम्मेदवार, आम नागरिकहरुको लागि निर्वाचन आचारसंहिता बनाएको छ,’ अनुगमन अधिकृत बस्यालले भने–‘सवैले आचारसंहिताको पालना गर्नुपर्छ, त्यसो नभएमा आयोगले आवश्यक कारवाही गर्नेछ ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here