महिला भलिबल: बागमती प्रदेशको सहज जित

म्याग्दी, २८ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल प्रतियोगितामा बागमती प्रदेशले पहिलो खेलमा सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ ।

शुक्रबार म्याग्दी स्थित बेनी बजारको खुल्लामञ्च खेल मैदानमा भएको दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो । होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबका अधिकांश खेलाडी सम्मेलित बागमतीले प्रदेश नम्बर १ लाई पहिलो सेट २५–७, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१२ ले पराजित गर्यो ।

समुह ‘बी’मा रहेको बागमतीले पहिलो खेलमा जित हातपार्दै क्वाटरफाइनलको यात्रा सहज बनाएको छ ।

आजको अन्तिम खेल नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश विच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

आजै भएको पहिलो खेलमा विभागिय टिम एपिएफले कर्णाली प्रदेशलाई ३–० ले पराजित गरेको छ । समुह एमा रहेको एपिएफले कर्णाली विरुद्ध पहिलो सेट २५–६, दोस्रो सेट २५–२ र तेस्रो सेट २५–७ ले पराजित गरेको हो ।

बिहिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

महिला भलिबलमा ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब रहेको छ । समूह ‘बी’ मा बागमती प्रदेश, प्रदेश नम्वर १ र मधेश प्रदेश रहेको छ ।

समूह सीमा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह डी मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here