
म्याग्दी, २७ असोज । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलमा गण्डकी प्रदेश समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको छ ।
म्याग्दीको बेनी बजारस्थित खुल्लामञ्चमा बिहीबारदेखि भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुआत गरेको हो ।
पहिलो सेटमा गण्डकीले २५–१८ को जित निकाल्न सफल भयो । दोस्रो सेटमा गण्डकीले २५–८ को सहज जित निकालेको गण्डकीले तेस्रो सेटमा २५–२२ ले विजयी हुन सफल भयो ।
यस जितसँगै गण्डकी समूह ‘डी’ बाट समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पराजित सुदूरपश्चिम पनि समूह उपविजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । यो समूहमा दुई टोली मात्रै रहेकाले दुवै टोली अघिल्लो चरणमा पुगेको हो ।
अब गण्डकीले समूह ‘बी’ को उप विजेतासँग तथा सुदूरपश्चिमले ‘बी’ को विजेतासँग खेल्नेछ । प्रतियोगितामा शुक्रबार एपिएफ र कर्णाली, बागमती र प्रदेश १ तथा पुलिस र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।
महिला भलिबलमा ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब रहेको छ । समूह ‘बी’ मा बागमती प्रदेश, प्रदेश नम्वर १ र मधेश प्रदेश रहेको छ । बागमतीमा होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबका अधिकांश खेलाडी रहेका छन् ।
समूह सीमा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह डी मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।









