निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन

काठमाडौं, २४ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्रमणि पोखरेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्तासँगै चारवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गरिएको जानकारी दिए ।

उनले आगामी निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीसहित झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए ।

निर्वाचन प्रक्रिया सुरु भएसँगै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको सुरक्षाका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

मन्त्रालयले निर्वाचन सुरक्षा बलियो बनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी शान्तिसुरक्षा प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई जारी गरेको परिपत्रमा निर्वाचनमा सहभागी राजनीतिक दलबीच चुनावी अभियानका क्रममा झडप हुन सक्ने भएकाले उच्च सावधान अपनाउन निर्देशन दिएको छ ।

साथै निर्वाचनमा प्रतिस्पर्धा गरेका राजनीतिक दलको चुनावी अभियान र चुनावी सभा एकै स्थानमा नपर्ने गरी व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।

गृह मन्त्रालयले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन तथा नागरिकको आवतजावतलाई सहजीकरण हुने गरी सुरक्षा तथा सवारीसाधनको व्यवस्थापन मिलाउन परिपत्रमार्फत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here