
बागलुङ, ३० भदौ । राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलस्थलहरुको टुङ्गो लगाएको छ ।
आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिता प्रदेश भित्रका ७ जिल्लामा संचालन गर्नेगरी खेलस्थलको टुङ्गो लगाएको हो । गण्डकी प्रदेशका कास्की, पर्वत, गोरखा, स्याङ्गजा, बागलुङ, नवलपुर र म्याग्दीमा प्रतियोगताहरु संचालन गर्ने परिषदले जानकारी गराएको छ ।
राखेपले बागलुङ जिल्लामा आईटिएफ तेक्वान्दो मात्र गर्ने जनाएको छ । राखेपले बागलुङ कभर्डहलमा असोज २८ गतेदेखि कार्तिक २ गतेसम्म आईटिएफ तेक्वान्दो संचालन गर्ने जनाएको छ । अधिकांश खेलहरु गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरामा गर्ने गरी खेलस्थलको टुङ्गो लगाइएको छ । तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा भने कुनै पनि खेल आयोजना नगर्ने राखेपले निर्णय गरेको छ । जसमध्ये सुटिङ र पुरुष क्रिकेट काठमाडांैमा तय गरिएको छ । ति दुई खेल मध्य क्रिकेटको खेल भने जारी रहेको छ ।
सार्वजनिक गरिएका खेलस्थल मध्ये पोखराको फिस्टेल एकेडेमीमा स्विमिङ, पुरुष हक्की हेमजा गौरी शंकर खेल मैदान, महिला हक्की गण्डकी वोर्डिङ स्कुल, म्याग्दीमा तेक्वान्दो र महिला भलिबल, नवलपुरमा सेपाक्ताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल, स्याङजाको वालिङमा महिला फुटबल हुनेछन् । यद्यपी महिला फुटबलको भने अझै टुङ्गो लाग्न बाँकी रहेको परिषदले जनाएको छ । प्याराग्लाइडिङ पोखराको सराङकोटमा हुनेछ ।
एथलेटिक्स(ट्रयाक एण्ड फिल्ड) पोखरा रंगशालामा हुने छ । महिला बास्केटबल पोखराको पृथ्वीनारायण क्याम्पसमा खेलाइने छ । शारीरिक सुगठन पोखरा सभागृह, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, रग्बी भण्डारढीक खेल मैदान, कबड्डी रन्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रंगशाला ह्याण्डबल एकेडेमीमा खेलाईने भएको छ ।
टेवल टेनिस पोखरा इन्द्रमार्गस्थित कोल्माबाहकोट समाज, साईक्लिङ पोखराको रानीबनमा र ट्राइयाथोलन लेकसाईडमा हुनेछन् । खेल तालिका अनुुसार असोज २३ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता शुरु हुने छ । २४ गते उसु र फेन्सिङ प्रतियोगिता असोज २५ गते महिला तथा पुरुष कबड्डी, २७ गते बुद्धिचाल, महिला तथा पुरुष हक्की, गल्फ, महिला तथा पुरुष फुटबल र फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सुरु हुनेछन् । प्याराग्लाइडिङ असोज २८ गतेबाट सुरु हुनेछ ।