कानून विपरीत निकालिएको नदीजन्य वस्तुको लिलाम विक्री अनुगमन

म्याग्दी/पर्वत, २९ भदौ । कानून विपरीत कालीगण्डकी नदीमा उत्खनन गरिएको नदीजन्य वस्तुको लिलाम विक्री गर्न पर्वतको जलजला गाउँपालिकाले अनुगमन गरेको छ । ठेक्का नलागेको ठाउँमा समेत रातको समयमा उपकरण प्रयोग गरी निकालिएको नदीजन्य वस्तु गाउँपालिकाले जफत गरेको थियो । अवैध रूपमा उत्खनन गरिएको नदीजन्य वस्तुको लिलाम विक्री गर्न गाउँपालिकाले सरोकारवालाहरूको रोहवरमा सोमवार नापजाँच गरेको हो ।

पर्वतको वारी बेनीदेखि डम्मु खोलासम्मको कालीगण्डकी नदीमा अवैध रूपमा उपकरण प्रयोग गरेर नदीको किनारमा थुपारिएको बालुवाको लिलाम विक्रीका लागि नापजाँच गरिएको छ । गाउँपालिकाका लामाखेत, मोहन चोक, मिलनचोक, केराबारी, लस्ती फोर्से, खन्याघाट लगायतको क्षेत्रमा अवैध रूपमा उत्खनन गरेर थुपारिएको बालुवाको लिलाम विक्री गर्न अनुगमन गरिएको जलजला गाउँपलिका उपाध्यक्ष एवं अनुमगन टोलीका संयोजक दिपक आचार्यले जानकारी दिए ।

साउन र भदौ महीनामा वातावरणीय प्रभाव मूल्यांकन विपरीत उत्खनन गरिएको बालुवा लिलाम विक्री गराउन गाउँपालिका उपाध्यक्ष आचार्य, जिल्ला समन्वय समितिका प्रनिनिधि, गाउँपालिकाका इन्जिनीयर, सुरक्षाकर्मी लगायतको उपस्थितिमा नापजाँच गरिएको थियो । कार्यपालिकाको छलफलबाट लिलाम विक्रिका लागि प्रक्रिया अघि बढाउने उपाध्यक्ष आचार्यले बताए ।

गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा झिक्न प्रयोग भएका डोजरहरू शिल गरिएको थियो । वर्षात्को समयमा उत्खनन गर्न नपाइने नियम हुदाँहुँदै व्यवसायीले एक्स्काभेटर प्रयोग गरेर बालुवा उत्खनन गरी बेच्ने गरेका छन् ।

राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको संरक्षणमा पर्वत खण्डमा ठेक्का नलागेको ठाउँमा समेत उपकरण प्रयोग गरेर बालुवा उत्खनन भइरहेको जनगुनासो छ । म्याग्दी, पर्वत, बागलुङ क्षेत्रमा कानून विपरीत नदीजन्य वस्तुको उत्खनन बढिरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here