शालिग्रामको संरक्षणका लागि भूमिगत सङ्ग्रहालय

बागलुङ, २८ भदौ । कालीगण्डकी नदीमा हुने अवैध सङ्कलनले पवित्र शालिग्राम लोपोन्मुख अवस्थामा पुगेपछि संरक्षणका लागि बागलुङमा सङ्ग्रहालय निर्माण गरिएको छ ।

विष्णु स्वरूप शिला संरक्षणका लागि बागलुङ नगरपालिका–४, कुँडुलेस्थित भूमिगत सङ्ग्रहालय निर्माण गरी लाखौँ शालिग्राम शिला राखिएर यसलाई तिरुपति बालाजीधाम सङ्ग्रहालय नामकरण गरिएको छ । भू–गर्भभित्र त्रिशूल आकारमा ७६ मिटर लामो सुरुङ निर्माण गरी शालिग्राम सङ्ग्रहालय, त्रिवेणीधामदेखि दामोदर कुण्डसम्मको नक्सा, विभिन्न मठ–मन्दिरका आकृति, वृत्तचित्र प्रदर्शनी कक्षलगायतका संरचना निर्माण गरिएको छ ।

मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकीमा मात्रै पाइने सानादेखि तीन सय किलोग्रामसम्मका शालिग्राम संरक्षण गरेर राखिएको छ । स्वामी श्रीधराचार्यको योजनाअनुसार सङ्ग्रहालय तयार गरेको श्रीधराचार्य शालिग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताउनुभयो । सङ्ग्रहालयको आन्तरिक आम्दानीबाट १५ लाख रुपियाँको लागतमा संरचना तयार गरिएको हो ।

नेपाली र भारतीय कालिगडद्वारा १० फिट अग्लो र पाँच फिट चौडा रहेको प्रवेशद्वारमा बाघको मुखाकृति तयार गरिएको छ । बागलुङ जिल्लाको नाम बाघसँग सम्बन्धित भएको हुँदा जिल्लाको पहिचानलाई आधार मानेर प्रवेशद्वारमा बाघको आकृति तयार गरेको अध्यक्ष प्रपन्नाचार्यको भनाइ छ । तीन वर्षअघि तयार भएको सङ्ग्रहालयमा एक दशकअघिदेखि सङ्कलित शालिग्राम राखिएको छ । सङ्ग्रहालयको नामकरण गरिएको स्वामी श्रीधराचार्य शालिग्रामको महìवबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षण अभियन्ता हुनुहुन्थ्यो । उहाँको २०५६ सालमा ३९ वर्षको उमेरमा निधन भइसकेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here