महिला साफ : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

बागलुङ, २७ भदौ । नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।

नेपालको जितले भुटान पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । दुई खेलमै हार बेहोरेको श्रीलंका समूह चरणबाटै बाहिरिएको छ । सोमबार दशरथ रंगशालामा नेपालका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिसा कार्कीले दुई गोल गरिन् । त्यस्तै रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाही एक/एक गोल गरिन् ।

खेलको नवौं मिनेटमा रश्मीकुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता लिन सफल भयो । हीरा कुमारी भुजेलको क्रसलाई रश्मीले हेडरमार्फत जाली चुमाए । ११ औं मिनेटमा सरु लिम्बुको गोलबाट नेपालले अग्रता दोब्बर पार्यो । उनले अमृता जैशीको क्रसलाई सरुले हेडरमार्फत जाली चुमाइन् ।

१७ औं मिनेटमा अमृता जैशीले गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् । उनले अनिता बस्नेतको कर्नरलाई हेडरमार्फत नै जाली चुमाइन् । २९ औं मिनेटमा गोललाइन नजिकै नेपालले सुवर्ण अवसर पाएपनि रेखा पौडेल र अनिताबीच तालमेल नमिल्दा गोल निस्कन सकेन । ३५ औं मिनेटमा अनिताको कर्नरमा हीराको प्रहार श्रीलंकाका गोलरक्षक योहानी विरसिंगेले बचाइन् । लगत्तै श्रीलंकाली डिफेन्डरको क्लिअरेन्स टप कर्नरमा लागेर फर्कदा नेपालले थप अग्रता बढाउन सकेन ।

३९ औं मिनेटमा अनिता बस्नेतको फ्रिकिकलाई गोलरक्षकले नियन्त्रणमा लिइन् । ४२ औं मिनेटमा श्रीलंकाले पहिलो आक्रमण बुन्दा नेपाली टोलीका गोलरक्षक तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बालाई कुनै खतरा भएन ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा दीपा शाहीले गोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् । दीपाले गोलरक्षक रडिफेन्सले क्लियर गर्न नसकेको बललाई पहिलो बारमा गोल गर्न सफल भइपन् । उनले राष्ट्रिय टोलीका लागि पहिलो गोल गर्न सफल भएकी हुन् । यसै साफ च्याम्पियनसिपका लागि टोलीका परेकी दीपाले भुटानविरुद्धको खेलबाट सिनियर टोलीमा डेब्यु गरेकी थिइन् ।

५५औं मिनेटमा दीपा शाहीको बक्सबाहिरको प्रहार क्रसबारबाट थोरै बाहिरियो । ६३औं मिनेटमा सरु लिम्बुको क्रसमा अनिता बस्नेतको प्रहार पहिलो बार च्याप्दै बाहिरियो । ७७औं मिनेटमा परिवर्तित खेलाडी अमिशा कार्कीले गोल गर्दै नेपाललाई ५–० ले अघि बढाइन् । विपक्षी डिफेन्डरको कमजोर डिफेन्सको फाइदा उठाउँदै नजिकै रहेका अमिशाको चिप प्रहार गोलमा परिणत भयो । अमिशा ५५औ मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । ८२औं मिनेटमा अमिशाले सुवर्ण अवसर पाएपनि उनको प्रहार आकासियो ।

८४औं मिनेटमा अनिता केसीको क्रसमा रश्मीले सुवर्ण अवसर पाएपनि उनले ढिला गरि गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । इन्ज्युरी समयम अमिशाले एकल प्रयासमा सुन्दर गोल गरिन् । गोलरक्षक र डिफेन्सको चुनौती चिर्दै उनले उत्कृष्ट फिनिस गरेकी थिइन् ।

समूह ‘बी’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो । भुटानले ३ तथा श्रीलंका अंक विहीन बन्यो । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० ले हराउँदा भुटानले श्रीलंकालाई ५–० ले हराएको थियो ।

नेपालले अब सेमिफाइनल प्रतिद्वन्द्वीका लागि बंगलादेश र भारतबीचको खेलको नतिजा पर्खनु पर्ने हुन्छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here