
बागलुङ, २६ भदौ । बागलुङमा यस वर्ष पनि जेसीज सप्ताह बिभिन्न कार्यक्रमका साथ शुरु भएको छ ।
युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस बर्षपनि बिभिन्न कार्यक्रमका साथ सप्ताह शुरु भएको हो । बागलुङ जेसीजको आयोजनामा शनिबारदेखि शुरु भएको जेसीज सप्ताह–२०२२ को पहिलो दिन शनिवार सप्ताहको उद्घाटन तथा युवा सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्घाटन बागलुङ नगरपािलकाका नगरप्रमुख तथा बागलुङ जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठले गर्नु भएको थियो ।
सप्ताह उद्घाटनपछि बोल्दै नगरप्रमुख श्रेष्ठले समाजमा बिधिको शाषन स्थापना गर्नका लागि दरिलो र भरपर्दो संस्था जेसीज भएकाले युवाहरुलाई जेसीजमा आकर्षित गर्नका लागि बागलुङ जेसीजले भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । समाजलाई सकारात्मक रुपमा परिवर्तन गर्नु अहिलेको चुनौती रहेको र यसका लागि युवाहरुको भुमिका आवश्यक भएकाले युवाहरु सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्री र नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जव्वरबहादुर लामिछानेले मंतव्य व्यक्त गर्नु भएको थियो । सप्ताहको दोस्रो दिन आज स्वर्गिय सत्यदेवी स्मृति स्लो बाईक रेस प्रतियोगिता हुने महासचिव महतोले बताउनुभयो ।
बागलुङ जेसीजल प्रत्येक बर्ष गर्दै आएको युवा सम्मान कार्यक्रमबाट यस बर्ष बागलुङका दुई युवा सम्मानित भएका छन् ।
बागलुङ जेसीजले आयोजना गरेको जेसीज सप्ताहको पहिलो दिनको कार्यक्रम अन्तरगत समाजलाई केहि योगदान पु¥याएका दुई युवाहरुलाई सम्मान गरेको हो । युवा सम्मान कार्यक्रम अन्तरगत जेसीजले सानै उमेरमा पनि कार्यालय प्रमुखको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नु भएका यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापा र व्यवसायी सुनिता खड्कालाई सम्मान गरेको थियो ।
बानपा ११ रायडाँडा निवासी थापालाई निजामति कर्मचारीको तर्फबाट र बानपा ३ निवासी खड्कालाई महिला सफल व्यवसायीको तर्फबाट सम्मान गरिएको जेसीजका महासचिव गणेश महतोले जानकारी दिनुभयो ।
सो अवसरमा जेसीजले जेसीजमा लामो समय काम गरेर जनप्रतिनिधी भएका व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो । जनप्रतिनिधी सम्मान अन्तरगत बागलुङ जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी जेसीजका पुर्व अध्यक्ष उत्तमकुमार कर्मचार्यलाई सम्मान गरेको थियो ।
त्यसैगरि म्याग्दी जेसीजका सदस्य भीम बराइली, पर्वत जेसीजका अच्युत तिवारी, सन्तोष कार्की र बिष्णु अर्याललाई सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण बागलुङ जेसीजका सदस्य ताराप्रसाद शर्माले गर्नु भएको थियो ।