बागलुङ, २४ भदौ । बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थामा शुक्रबार तालाबन्दी भएको छ ।
राष्ट्रिय युवा संघ बागलुङ नगर कमिटीले बागलुङ नगरपालिकाको बजार क्षेत्रमा खानेपानी विरणको जिम्मा पाएको संस्थाले नगरबासीलाई शुद्ध खानेपानी नखुवाएको भन्दै तालाबन्दी गरेको हो । राष्ट्रिय युवा संघ बागलुङ नगर कमिटीका अध्यक्ष निकेश अधिकारीको नेतृत्वमा गएको समुहले संस्थामा तालाबन्दी गरेको हो । युवा संघले संस्थाले धमिलो, अशुद्ध र खान योग्य नभएको पानी वितरण गरेर आम नागरिकको स्वास्थ्य माथि खेलवाड गरेकोले तालाबन्दी गरेको बताएको छ ।
युवा संघले शुक्रबार संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएपछि कार्यकक्षामा तालाबन्दी गरेको हो । संघले संस्थाको अधिवेशन समेत नभएको र बर्खाको समयमा पानी विरण गर्न नसकी खेतको सिचाईको लागि आएको पानीलाई सिधै उपभोक्ताको धारोमा पु¥याएकोले यस्तो गम्भिर गल्ती सच्चाउन र नागरिकहरुलाई शुद्ध पानी वितरण गर्न माग गरेको छ । संस्थाले उपभोक्ताहरुलाई शुद्धिकरण गरेको खानेपानी वितरण गर्ने प्रतिबद्धता नजनाएसम्म ताला नखोल्ने युवा संघ बागलुङ नगर कमिटीका अध्यक्ष अधिकारीले बताउनुभयो ।
बगलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक शर्माले माग अनुसारको खानेपानी आपूर्ति गर्न नसकेको स्विकार गर्दै मंसिर पछि मात्रै नागरिकको धारोमा शुद्धिकरण गरेको पानी पठाउन सक्ने बताउनुभयो । उहाँले संस्थाले शुद्धिकरणका लागि सक्दो पहल भइरहेको बताउनुभयो ।
प्रबन्धक शर्माले बृहत लिफ्ट आयोजनाको काम जारी रहेकोले सम्पन्न नहुँदासम्म बजार क्षेत्रमा माग अनुसारको पानी पठाउन नसकिने बताउनुभयो ।