
बागलुङ, २४ भदौ । क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिजमा रहेका क्रिकेट खेलाडी सन्दीप लामिछाने बलत्कारको आरोप लागेपछि स्वदेश फर्कने भएका छन् ।
सामाजिक सञ्जालमा शुक्रबार एक पोष्ट राख्दै सन्दीपले भनेका छन्, ‘म निर्दोष छु र मलाई नेपालको नेपालको कानुनमा पूर्णत विश्वास छ । मैले सिपिएल छाड्ने निर्णय गरेको छु र म केहि दिनमा आफ्नो देश फर्कनेछु । म आधारहिन आरोपको सामना गर्न तयार छु । निर्दोषले न्याय पाउने छन् । यसमा संलग्न सबैको राम्ररी अनुसन्धान हुनेछ र कानुन सबैका लागि बराबर हुने विश्वास छ ।’
एक नाबालिग किशोरीले आफूलाई बलत्कार गरेको भन्दै सन्दीपविरुद्ध मंगलबार प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।त्यसको दुई दिनपछि बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पादन समितिले बिहीबार नै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरिसकेको छ ।