नेपालले जित्यो केन्याविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखला

एजेन्सी – केन्याविरुद्धको टि–२० सिरिज नेपालले जितेको छ । अन्तिम खेलमा ३१ रनको जित दर्ता गर्दै नेपालले सिरिजमा कब्जा जमाएको हो ।

नेपालले पाँच टि२० आई खेलको सिरिज ३-२ ले जित्न सफल भएको हो । नेपालले पाँचौं टि२० आई खेलमा केन्यालाई ३१ रनले हराउँदै सिरिज जितेको छ ।

जितको लागि १ सय ७६ रनको बलियो लक्ष्य पाएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । केन्याका नेहेम्याह ओधियाम्बोले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

कप्तान शेम न्गोचे १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा अविजित रहे । नेल्सन ५ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहे ।

विकेटकिपर इफरान करिम २८ र कोलिन्स ओबुयाले २३ रन बनाए । नेपालका सन्दीप लामिछाने र बसिर अहमदले समान दुई दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए ।

त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । नेपालका ज्ञानेन्द्र मल्ल ४४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनमा आउट भए । ज्ञानेन्द्रले ४१ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक प्रहार गरे ।

रोहित पौडेलले २५ बलमा ७ चौकासहित ४७ रनमा आउट भए । ओपनर अर्जुन साउद २१ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा आउट भए । पहिलो विकेटका लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लले ८ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

अर्जुन शेम न्गोचेको आठौं ओभरको अन्तिम बलमा विकेटकिपर इफरान करिमबाट स्टम्पिङ आउट भए । नियमित ओपनर पवन सरार्फको स्थानमा नेपालले आज ज्ञानेन्द्रलाई ओपनिङ गराएको थियो । तेस्रो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरी १७ बलमा ३ चौकासहित २२ रनमा आउट भए । पवन १ रन, विवेक यादव २ र आदिल अन्सारी ४ रनमा आउट भए ।

केन्याका स्पिनर विरज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बो दुई दुई विकेट लिए । नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । तेस्रो खेलमा ४ विकेटले विजयी हुँदा चौथो खेलमा ७ रनले स्तब्ध भएको थियो । अव तीन एकदिवसिय अभ्यास खेलको सिरिज हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here