
बागलुङ, ३० साउन । जिल्ला अदालत बागलुङमा गत आर्थिक बर्षमा दुई सय ३२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए । कुल दर्ता भएका दर्ता भएको चार सय ९५ मुद्दा मध्ये आधा मुद्दा सम्बन्ध विच्छेदका थिए ।
अघिल्लो आब २०७७÷७८ बाट जिम्मेवारी सरेर आएका तीन सय ३१ मुद्दामा पनि ४० प्रतिशत सम्बन्ध विच्छेदकै मुद्दा रहेको श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताउनुभयो । गत आर्थिक वर्षजस्तै हरेक वर्ष सय हाराहारी मुद्दामा ४० देखि ५० प्रतिशत सम्बन्ध विच्छेदका देखिएका छन् ।
वैदेशिक रोजगारीको कारण सम्बन्ध विच्छेदमा पुग्ने बढी देखिएको उहाको भनाई छ । बुढा विदेशमा हुँदा घरमा रहने श्रीमतिलाई अनावश्यक शंका गर्ने, अन्यत्र सम्बन्ध बनाएको आरोप लगाउने, वा विदेशमा रहेको व्यक्ति उतै दोस्रो विवाह गर्ने जस्ता कारणले वैवाहिक सम्बन्धमा धरार आउन थालेको भण्डारीको भनाई छ ।
सानो उमेरमा विवाह हुने, अनमेल तथा अन्तरजातीय विवाह पनि विवाह धेरै समय टिक्न नसकेर सम्बन्ध विच्छेदमा पुगेको देखिएको अधिवक्ता गीता श्रीसको भनाई छ । ‘सामाजिक रुपमा हेलाहोचो बढी हुने, परिवारमा पनि बेमेल हुने भएपछि कतिपयले छोटो समयमै सम्बन्ध विच्छेदको मुद्दा लिएर आएको भेटियो’, उहाँले भन्नुभयो, ‘केही मिलापत्र भएर छाडेको देखिन्छ, अधिकांश सम्पत्ति, अन्तरजातीय र अनमेल प्रकारका विवाहले यो अवस्था ल्याएको छ ।’
अदालतमा आउने अधिकांश मुद्दामा खाना लाउन नदिएको, घर निकाला गरेको भनेर आएकाहरु पनि वैदेशिक रोजगारीको समस्याले ल्याएको प्रवृत्ति भएको अर्का अधिवक्ता राम शर्माको बुझाइ छ । ‘सम्बन्ध विच्छेद गर्नैपर्ने छ, महिलाले समस्या लिएर आएमा अंश पाउने अवस्था बढी हुन्छ’, उहाँले भन्नुभयो, ‘मिलापत्र गर भने पनि सोझै विच्छेदमा जाने अवस्था हुन्छ ।’ नेपाली समाजमा सम्बन्ध विच्छेद झांगिएको छ । अघिल्लो वर्ष पनि अदालतमा २ सय बढी मुद्दा सम्बन्ध विच्छेदकै थिए ।
अधिकांश घटनामा पारिवारिक बेमेल देखिएको छे । तीमध्ये पुरुषले दिएका मुद्दामा भने सम्पत्ति हिनामिना भएकोले विच्छेद माग गरिएको छ । भण्डारीका अनुसार गतवर्ष देवानी प्रकृतिका ३ सय ६ र फौजदारी प्रकृतिका २ सय ९५ मुद्दा अदालतमा परेका थिए ।