
बागलुङ, २८ साउन । काठेखोला गाउँपालिकाले बिभिन्न ऐन, कार्यविधि र नियमावली निर्माणको कार्यलाई तिव्रता दिएको छ ।
गाउँपालिकाको समग्र विकास योजना सञ्चालनलाई सहजता र सरलता प्रदान गर्न र जनताको सेवा प्रवाहलाई थप ब्यवस्थित गर्न गाउँपालिकाले बिभिन्न ऐन, नियमावली र कार्यविधि बनाउन लागेको हो । कानुनविदहरुबाट कानुनी परामर्श लिई आवश्यकताको आधारमा बिभिन्न बिषयसंग सम्बन्धित ऐन निर्माण गर्न सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले बताउनुभयो ।
गाउँपालिकाले केहिदिन अगाडी अधिबक्ताहरुको प्रत्यक्ष उपस्थितिमा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको बिचमा कानुन निर्माण सम्बन्धी अन्तरक्रिया गरेर शनिबार गाउँपालिकाको शिक्षा ऐन निर्माण सम्बन्धी सरोकारवालाहरु संग सुझाव संकलन गरेको छ ।
संघिय शिक्षा ऐन नआईसकेको अवस्थामा गाउँपालिकाको शैक्षिक गतिविधि एवम कार्यक्रमहरु सञ्चालन गर्न असहज भएकोले नेपालको संविधान २०७२ को अनुसुची ८ मा रहेर शिक्षा ऐन बनाउन लागेको काठेखोला गाउँपालिका सामाजिक विकास समितिका संयोजक खडक थापाले जानाकारी दिनुभयो ।
सुझाव संकलन कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले गाउँपालिकाको समग्र विकास, परिवर्तन र समृद्धि प्राप्ती र हरेक नागरिकहरुका लागि स्थानीय सरकारले दिने सेवा प्रवाहलाई कानुनी सहजता र सरलता प्रदान गर्न गाउँपालिकाले ऐन निर्माण गर्न लागेको बताउनुभयो ।
काठेखोला गाउँपालिका, सामाजिक विकास समितिका संयोजक खडक थापाको अध्यक्षतामा सम्पन्न सुझाव संकलन कार्यक्रममा शिक्षा अधिकृत रमा उचैले काठेखोला गाउँपालिकाको शिक्षा ऐनको मस्यौदा माथी सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन श्रोत ब्यक्ति रमानन्द कँडेलले गर्नुभएको थियो ।
झन्दै १०० जनाको सहभागीता रहेको सुझाव संकलन कार्यक्रममा गाउँपालिकाका कार्यपालिकाका सदस्यहरु, बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, शिक्षक, बि.ब्य.स. अध्यक्षहरु, शिक्षक, कर्मचारी एवम अभिभावकहको उपस्थिति रहेको गाउँपालिकाका प्रवक्ता टिका संगम वि.क.ले जानाकारी दिनुभयो ।