
बागलुङ, २१ साउन । चिल्ड्रेन लाईफ स्पोर्टस क्लब बागलुङले आयोजना गरेको खुल्ला फुटसल प्रतियोगिताको उपाधिको लागि थापाठाना एफसी र गुठी युनाईटेड भिड्ने भएका छन् ।
शनिबार विहान भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा थापाठानाले आयोजक चिल्ड्रेन लाईफ स्पोर्टस क्लब (रातो)लाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा पक्का गरेको हो ।
निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि फाइनल पुग्ने टिमको टुंगो टाईब्रेकरबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा चिल्ड्रेन लाईफको एक प्रहार थापाठानाका किपरले बचाउँ गर्दै टिमलाई फाइनलमा प्रवेश गराए ।
यस्तै शनिबार नै भएको दोस्रो सेमिफाइनल खेलमा गुठीले हाइकर्स युनाईटेडलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको अन्तिम समयमा १ गोल गरेको गुठीले दोस्रो हाफमा थप १ गोल गर्दै जित सुनिश्चित गरेको थियो ।
चिल्ड्रेन लाईफ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आज (शनिबार) दिउँसो ३ बजे हुने चिल्ड्रेन लाईफ स्पोर्टस क्लबका खेलाडी सौगात खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले ४१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै विधागततर्फ उकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता समेत पुरस्कृत हुनेछन् ।