पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ,श्रावण १७ ।  अविरल वर्षापछि खसेका सानाठूला दर्जन पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । पहिरोकै कारण बागलुङ-कुश्मीसेरा सडक पनि अवरुद्ध भएको छ ।

गएरातिदेखि नै खसेका पहिरोले करिडोरको दर्जनबढी स्थानमा सडक अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । गत वर्ष खसेको ठूलो पहिरोमा निरन्तर लेदो खसेपछि कुश्मीसेरा सडक पनि अवरुद्ध भएको हो ।

‘लेदो सहितको पहिरो खसिरहेको छ, जोखिम मोलेर सवारी गुड्न दिएका छैनौं,’ रानाले भने, ‘पहिरो पन्छाउन डोजर प्रयोग भएपनि निरन्तर वर्षाले अप्ठ्यारो भएको छ ।’ पहिरो पन्छाउन जैमिनी नगरपालिकाले नियमित डोजरको प्रयोग गर्दै आएको हो ।

करिडोर र बागलुङ-कुश्मीसेरा खण्ड अवरुद्ध हुँदा दक्षिण बागलुङको बलेवादेखि जैमिनी नगरपालिका र बरेङ गाउँपालिकासम्मका यात्रीले यात्रा गर्न पाएका छैनन् । करिडोरमा भने असार लागेपछि नै नियमित सवारी गुड्न सकेका छैनन् । सडक रोकिएकै कारण दैनिक आउने दूध र तरकारी समेत रोकिएका छन् ।

‘दूध नआएपछि नियमित ग्राहकलाई दिन पाइएन,’ स्थानीय व्यवसायी हिरादेवी शर्माले भनिन्, ‘ल्याएको दूध बाटैमा फाट्ने भयो ।’ गत वर्ष बागलुङ नगरपालिका १० को गलुवामा खसेको पहिरोले करिडोर सहित कुश्मीसेरा जाने तर्फको कालोपत्रे सडकको दुइवटा घुम्ती समेत बगाएको थियो ।

पहिरोले गत वर्ष तीन महिनासम्म यो सडक अवरुद्ध थियो । २ करोड लागतमा मात्रै पुनर्निर्माण गर्न सकिने भनिएको सडक बनाउन बागलुङ नगरपालिकाले २० लाख खर्चेर ट्रयाक खोलेको थियो ।

यो बर्खामा पनि दैनिक जसो अवरुद्ध हुन लागेपछि जैमिनी नगरपालिकाले डोजरको व्यवस्थापन गरेर नियमित खुलाउने काम गरिरहेको छ । सडकको स्थायी संरचना बनाउन माग गर्दै प्रदेश सरकारमा माग पुगेपनि बजेट विनियोजन भएको छैन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here