
बागलुङ, ५ साउन । जिल्ला प्रहरी कार्यालय बागलुङले सुन चोरीको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले असार २७ गते बिहान करीव ११ बजे ढोरपाटन नगरपालिका–५ मस्तीबाट ३१ वर्षीय बोमबहादुर घर्ती ‘जित’ र टेकबहादुर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।
घर्ती निसिखोला गाउँपालिका–७ राजकुत निवासी हुन् । घर्तीसँग प्रहरीले १ तोलाको सुनको सिक्री थान १, ३.८८२ तोलाको चाँदीको लकेट थान १, ०.४०१ तोलाको चाँदीको औंठी थान १ र साठी हजार रुपियाँ बरामद गरेको छ ।
चोरीका सुनका गरगहना खरिद गर्ने न्यू बलेवा एञ्जल सुन चाँदी पसलका सञ्चालक बागलुङ नगरपालिका–१२ का बिकलाई सुनलाई गालेर नयाँ बनाई (स्वरुप बदलेर) बिक्रीमा राखिएको १.०४ तोलाको सुनको सिक्रीसहित पक्राउ गरिएको एसपी ज्ञवालीले बताए ।
६८ वर्षीया हीराकुमारी कुँवरको घरबाट २ तोला ५० लालको सुनको सिक्री थान १, ३० लालको सुनको लकेट थान १ र नगद पन्ध्र हजार चोरी गरी फरार रहेकोमा अनुसन्धानको क्रममा चोरी कसूरमा संलग्न घर्ती र बिकलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
घर्ती र बिकलाई साउन ४ गते नियन्त्रणमा लिई जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ ।