देशभर किन बढिरहेको छ गर्मी, के भन्छ मौसम पूर्वानुमान महाशाखा?

काठमाडौँ, ०२ साउन । विगत केही दिनयता देशभर अत्यधिक गर्मी बढेको छ। गर्मीका कारण देशभरको जनजीवन प्रभावित भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक सातामा देशैभर अत्यधिक गर्मी बढेको हो। महाशाखाकी मौसमविद् गंगा नगरकोटीले अझै एक–दुई दिन गर्मी कम नहुने बताइन्।

अहिले मनसुनको समय भए पनि  मनसुनी बादल आउन नसक्दा गर्मी बढेको उनको भनाइ छ।

मौसमविद् नगरकोटीले देशसञ्चारसँग भनिन्, ‘अहिले मनसुनको समय हो। यो समय पृथ्वी र सूर्यको दूरी कम हुने गर्छ, जसले गर्दा मनसुनी बादलहरु सक्रिय हुने गर्दथ्यो। तर अहिलेको अवस्थामा मनसुनी बादल आउन सकेको छैन। त्यसैले गर्दा गर्मी बढी भएको हो।’

मनसुनी न्यून चापिय रेखा एक–दुई दिनमा देखापर्ने उनले बताइन्। महाशाखाका अनुसार आइतबार दिउँसो नेपालगञ्जको तापक्रम ३८.२ डिग्री सेल्सियस मापन भएको थियो। यस्तै धनगढीमा ३७.८, दिपायलमा ३७.५, भैरहवामा ३७.२, सिमरामा ३६.५, विराटनगरमा ३५.७, जनकपुरमा ३५.८ र काठमाडौँमा ३२.३ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।

मनसुनको समय भए पनि पर्याप्त मात्रामा वर्षा हुन सकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

पहाडी भू–भागका थोरै स्थानहरुमा र अन्य भू–भागका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। जसका कारण पहाडी भू–भागमा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७९ साउन २ गते (सोमबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

२०७९ साउन ३ गते (मंगलबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ साउन ४ गते (बुधबार)

दिउँसोः देशभर सामान्यतादेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू–भागका धेरै स्थानहरूमा र अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here