बागलुङका सत्ताईस वडा प्राकृतिक प्रकोपको उच्च जोखिममा

बागलुङ, १ साउन । जिल्ला विपत व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुन मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सुचिकृत गरेको छ ।

विपत व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भुमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी, चट्याङ जस्ता प्रकोपबाट स्थानीय तहका वडाहरुमा पर्ने उच्च जोखिम,मध्यम जोखिम र निम्न जोखिममा पर्ने स्थानीय तहका वडाको स्तरीकरण गरेको हो ।

प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्वरमा परेको छ । विगत वर्षहरुको बाढी पहिरोको प्रवृत्तिलाई विश्लेषण गर्दा बडिगाड गाउँपालिकाको बडिगाड खोलाको तटीय वस्ती, काठेखोला गाउँपालिका– ५ बिहुँ काउले क्षेत्र, बरेङ गाउँपालिका–ं.१ र ४ वडा, निसीखोला गाउँपालिका–७, गलकोट नगरपालिका– १,२ र ३ गौदी खोला र दरमखोलाका तटीय क्षेत्र बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि कालीगण्डकी नदीका तटीय क्षेत्र, जैमिनी नगरपालिकाका कालीगण्डकी नदीका तटीय क्षेत्र, काठेखोला गाउँपालिका– २ अछेते बजार, दोविल्ला क्षेत्र र तमान गाउँपालिकाको बोङ्गादोभान क्षेत्र उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानारी दिनुभयो ।

मध्यपहाडी लोकमार्गको बागलुङ निसी खण्ड अन्तर्गत बा.न.पा. ३ बोक्सेको गहिरो, काठेखोलाको टापु, काउले, गलकोट नगरपालिकाकोको नरेठाटी, हटिया, बानिया, मनेवा क्षेत्र, बडिगाडको खर्वाङ, राक्से, ग्वालीचौर, खौलार, खार, बालुवा, तुरतुरे, ढोरपाटनको खप्तरीवाङ पहिरो, ताराखोलाको सिले, साँधी, ताराखोला तटिय क्षेत्र, कालीगण्डकी कोरिडोरको गलुवा, धापेखोला, सरङी, कैया, टुटुङा, जैमिनीघाट, बेलबगरलाई पहिरोको उच्च जोखिमका सुचिकृत गरिएको छ । पहिरोको प्रकोपबाट अधिकांश स्थानीय तहका वडाहरु प्रभावित भएको पाइन्छ । स्थानीय तहबाट प्राप्त विवरणको आधारमा ३७ वटा वडाहरु उच्च जोखिममा, ३१ वडा मध्यम जोखिम र १७ वडाहरु निम्न जोखिममा छन् ।

यस बर्षको मनसुनमा पहिरो प्रकोपको कारणले ३० हजार जनसंख्या प्रभावित हुने सम्भावना उल्लेख गरिएको छ ।

पहिरोको जोखिममा रहेका झण्डै २० विद्मालय पहिरोको कारण पूर्ण तथा आंशिक रुपमा भत्किएर पठनपाठनमा वाधा पुग्न आँकलन गरिएको छ ।

पहिरो गएको ठाउँमा उद्घार तथा राहतको लागि तुरुन्तै स्थानीय तह, नेपाली सेना, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको उद्घार टोली घटनास्थलमा पठाउने निर्णय भएको छ । यदि ठुलो नै पहिरो गएर धेरै जनसंख्या प्रभावित भएको छ भने तुरुन्तै बहुक्षेत्रगत द्रूत लेखाजोखा टोली घटनास्थलमा पठाई विस्तृत सूचना संकलन गर्ने निर्णय भएको प्रजिअ ढकालको भनाई छ ।

सूचना संकलनको आधारमा स्थानीय तह र विषयगत क्षेत्र अगुवाहरुले राहत तथा उद्घार सम्बन्धी कार्य शुरुवात गर्ने, स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीले अस्थायी रुपमा बसोबास मिलाउनको लागि कार्य गर्ने साथै प्रभावितहरुको लागि अस्थायी टहराहरु वा सुरक्षित आश्रयस्थलमा राख्ने व्यवस्था मिलाउने तयारी गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here