
बागलुङ, ९ मंसिर । नेपाली काँग्रेसको संस्थापन समुहका प्रदेश सांसद, केन्द्रिय सदस्य र जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
बुधबार सम्पन्न मतगणना अनुसार बागलुङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेको प्रदेश सांसद कोपिला बोहोरा, केन्द्रिय सदस्य किरणराज शर्मा पौडेल र बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा पराजित भएका हुन् ।
बागलुङ क्षेत्र नं. १ को दलित महिला सदस्य तर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी सांसद बोहोराले ४ सय १३ मत प्राप्त गरेकी छिन् । सोहि पदमा काँग्रेस नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेकी दुर्गा देवी विश्वकर्मा ४ सय ६२ मत प्राप्त गरी विजयी भएकी छिन् ।
यस्तै प्रत्यक्ष खुल्ला तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका केन्द्रिय सदस्य पौडेलले ४०४ मत र जिल्ला सभापति थापाले ३९९ मत प्राप्त गरेका छन् । पराजित तिनै जना केन्द्रिय अध्यक्ष शेर बहादुर देउवा समुहका हुन् ।
बुधबार बिहान सम्पन्न मतगणनामा २६ जना महाधिवेशन प्रतिनिधिमध्ये देउवा समूहका ४ जना निर्वाचित हुँदा पौडेल समूहबाट २२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, मणिभद्र शर्मा कँडेल, डिल्लीराम सुवेदी, प्रकाश शर्मा पौडेल, ओमकार थापा, प्रकाश आचार्य, चिरञ्जीवी गौतम र हरिप्रसाद श्रेष्ठ, शकुन्तला शर्मा, चम्पादेवी खड्का, कल्पना पाठक हमाल, पार्वती आचार्य, कमला पराजुली, भगवती शर्मा सापकोटा, उमाकान्त पौडेल, नारायण शर्मा पौडेल, विष्णु पौडेल दारी, बेमकुमारी थापा, वसन्तकुमार श्रेष्ठ, भीम श्रीस, दुर्गादेवी विश्वकर्मा, सीताराम रसाइली र प्रेमबहादुर छन्त्याल निर्वाचित भएका छन् ।