
बागलुङ, १ मंसिर । काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका १ सय २५ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
सहयोग र सरोकार संस्थाको सहयोग र रोटरी क्लब अफ बागलुङको समन्वयमा भीमापोखरामा रहेका ९ वटा विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न १ सय २५ जना विद्यार्थीहरुलाई आईतबार शैक्षिक सामाग्री वितरण गरिएको हो ।
विपन्न विद्यार्थीहरुलाई स्टेशनरी सहित खाजा, झोला, डे«ेस सहयोग गरिएको रोटरी क्लब अफ बागलुङका अध्यक्ष संजय कुमार श्रेष्ठले बताउनुभयो । उहाँले एक जना विद्यार्थीलाई ६ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री सहयोग गरिएको बताउनुभयो ।
सामाग्री हस्तान्तरण पछि बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले शिक्षा विग्रेमा मानिसको जिन्दगी नै विग्रने भएकोले त्यसलाई सबैले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउपालिकाका अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, रोटरी क्लबका एजि भरत श्रेष्ठ, सहयोग र सरोकार संस्थाका निर्देशक रामप्यारी बज्राचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक लिलाराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत शिक्षक चन्द्रमणी उपाध्याय र संचालन हरिकमल आधारभूत विद्यालयका प्रधानाध्यापक होमनाथ गौतमले गर्नुभएको थियो ।
सच्चाईएको: १ सय २५ जना विद्यार्थी हुनुपर्नेमा अन्यथा भएकाले सच्चाईएको छ । त्यसबाट पाठकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं ।
-सम्पादक










