
पोखरा, २३ कार्तिक । कास्कीमा लागूऔषध कारोबार नियन्त्रण गर्न कास्की प्रहरीले लागूऔषध कारोवारी, डिलर र सेवन गर्नेलाई पक्राउ गरिरहेको छ । कास्कीमा ३ महिनामा १०९ जना लागूऔषधसहित समातिएको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रमुख एसपी रमेश थापाले बताए ।
आर्थिक वर्ष २०७७/७८ मा कास्कीमा १४९ जनाविरुद्ध लागूऔषधमा मुद्दा दर्ता भएको थियो । आव २०७८/७९ को ३ महिना (साउन, भदौ, आसोज) मा ७० जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ । त्यस्तै, गत आवमा २२१ जना पक्राउ परेका थिए भने चालू आवको ३ महिनामा १०९ जना पक्राउ परिसकेका छन् ।
गत आवमा लागूऔषध बुप्रिनर्फिन २ हजार ८ सय ३० थान, डाइजापाम २ हजार ८ सय ५३ थान, फेनेरागन २ हजार ७ सय ८४ थान, चरेस १ सय ग्राम, गाँजा ७२ केजी ५ सय ५१ ग्राम, नाइट्रोभ्याट २ हजार १ सय ८१ चक्की, ट्रामडोल २ हजार १ सय ९० क्याप्सुल, अफिम १० केजी ५ सय ग्राम, ब्राउन सुगर ८७ ग्रामसहित लागूऔषधसहित कारोबारी समातिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
चालू आर्व ३ महिनामा बुप्रिनर्फिन १ हजार ३ सय २४ थान, डाइजापाम १ हजार ३ सय ३४ थान, फेनेरागन १ हजार ३ सय ३७ थान, गाँजा ५१ केजी १ सय ७९ ग्राम, ब्राउन सुगर १७ ग्राम ३ सय ३७ मिलिग्राम, नाइट्रोभ्याट ३ सय ८२ चक्की, चरेस ८ सय ३८ ग्रामसहित लागूऔषध कारोबारी पक्राउ परेका छन् ।
कास्कीका विभिन्न ६८ स्थानमा गरी ४ सय ५० क्विन्टल गाँजा फडानी भएको पनि कास्की प्रहरीले बताएको छ । प्रहरीका अनुसार कात्तिकमा लागूऔषधसहित कारोबारी, एजेन्ट र डिलरसमेत पक्राउ परिरहेका छन् । पक्राउ परेका एजेन्टस्को सूचनाका आधारमा कास्की प्रहरीले डिलरलाई समेत समातेर मुद्दा चलाएको बताएको छ ।
लाहुरेको सहर भनेर चिनिने पोखरामा रोजगारको खोजीमा विदेश जाने अभिभावकको संख्या पनि उस्तै छ। ‘छोराछोरी छाडेर देशकै अन्य सहर तथा विदेश जाने अभिभावकले छोराछोरी लागूऔषध प्रयोग त गरिरहेका छैनन् ?’ भन्ने विषयमा चनाखो हुनुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी थापाले बताए । आफ्ना छोराछोरीलाई पकेट खर्च दिँदा त्यो पैसा के कुरामा खर्च गरिरहेका छन् भन्ने विषयमा पनि ध्यान दिनुपर्ने उनी सुझाउँछन् । कास्की प्रहरीले पहिलोपटक लागूऔषध सेवनमा फसेका युवालाई सुधार्न काउन्सिलिङसमेत गर्दै आएको छ । साथीभाइका लहलहै वा देखासिकीमा युवाहरू लागूऔषधमा फस्दै आएकोले अभिभावकले आफ्नो छोराछोरीहरूको संगत, व्यवहारमा केकस्ता परिवर्तन आएको छ भनी ख्याल गर्नुपर्ने उनी बताउँछन् ।
लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिको उमेर समूहमा आव २०७७/७८ मा १८ वर्षभन्दा मुनिका बालक १९ जना रहेका छन्। १८–२५ वर्ष उमेर समूहका पुरुष ८५ जना र महिला ४ जना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । त्यसैगरी २६–३५ वर्ष उमेर समूहमा ४३ पुरुष र ४ जना महिला पक्राउ परेका थिए । ३६–४५ वर्ष समूहका ४५ जना पुरुष र १ जना महिला, ४६ वर्षभन्दा माथि उमेर समूहमा २२ जना पुरुष रहेको कास्की प्रहरीको तथ्यांक छ । पर्यटकीय सहर पोखरामा घुम्न आउने विदेशी नागरिक पनि मनोरञ्जन गर्ने उद्देश्यले लागूऔषध सेवन गर्ने गरेको पाइएको छ। विदेशी नागरिकहरू पनि बेला–बेलामा पोखरामा लागूऔषधसहित पक्राउ पर्दै आएका छन् ।









