पर्यटन पूर्वाधारले रोकियो पञ्चकोटको बसाइँसराई

पञ्चकोट क्षेत्रको सुन्दर भान्सा बस्ती । नवीन शिशिर विक

बागलुङ, ८ कार्तिक । भुगर्भ शास्त्रमा स्नातक गर्नुभएको बागलुङ नगरपालिका–७ निवासी २८ बर्षिय प्रदिप गौतम जागिरको खोजीमा लाग्नुभएन । चितवनमा स्नातक तहको पढाई सकेर गौतम आफ्नै गाउँ फर्केर होटल व्यवासाय अंगाल्नुभएको छ ।

बागलुङ नगरपालिका–६ पञ्चकोटमा पर्यटन पूर्वाधार तयार भए पछि भान्सा, सिम क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढ्यो । गाउँमै पर्यटकको चाप बढे पछि त्यही मौकालाई अवसरमा बदल्दै गौतमले पञ्चकोट नजिकै तीस लाख रुपियाँ लगानी गरेर होटल खोल्नुभएको हो । कुनै समय अनकन्टार, चितुवा लुक्ने भिरको रुपमा परिचित पञ्चकोटमा स्वामी कमलनयन आचार्यको पहलमा आकर्षक पर्यटकीय पूर्वाधारको निर्माण पश्चात सो क्षेत्रको चर्चा चुलिएको छ ।

पञ्चकोटमा राखिएको बिशाल हनुमानको प्रतिमा, कशल, कलात्मक मठ मन्दिर, गरुडशिला, गुफा पञ्चकोट क्षेत्रका मानव निर्मिण पर्यटकीय आकर्षण हुने भने भान्सा, सिम र पञ्चकोटबाट आँखै अगाडी देखिने धौलागिरि, माछापुच्छे हिमालका दन्तते लहर हिमालय रेन्जले प्रकृति प्रेम पर्यटकलाई मोहित बनाउँछ ।

स्वदेश तथा विदेशमा पञ्चकोट क्षेत्रको चर्चा चुलिए पछि पञ्चकोट आसपासको बस्ती भान्सा सिम गाउँको बसाइँ सराई रोकिएको छ । युवा पुस्ताले पर्यटकीय सुन्दरता र पञ्चकोटमा आउने पर्यटकलाई लक्षित गरी किराना पसन, साना होटल, रेष्टुरेन्ट खाजा घर तयार गरी व्यवसाय गर्न थालेका छन् ।

‘पढने बेलामा गाउँ छोडेर चितवन नै बस्ने मन थियो’ गौतमले भन्नुभयो–‘अहिले चितवन छोडेर गाउँ फर्केर यतै बस्ने सोच बनाएको छु ।’ यहाँको प्राकृतिक सुन्दरतालाई व्यवसायिक बनाउन पहल गर्ने उहाँको भनाई छ । दैनिक सयौको संख्यामा आउने पर्यटकलाई लक्षित गरी होटल व्यवसाय सञ्चालन गरेको गौतमले बताउनुभयो ।

धौलागिरि हिमालको आगनमा देखिने सुन्दर बस्ती हो, बागलुङ नगरपालिका–६ भान्सा सिमको गाउँ । विगत एक दशक अघि सुनसान रहेको उक्त गाउँमा अहिले दैनिक चहल पहल हुन्छ । भान्साको बस्तीको शिरमा रहेको पञ्चकोटको कारण पनि यो गाउँको महत्व बढ्दै गएको हो ।

पञ्चकोटमा रहेका मानव निर्मित विशाल मुर्ति र त्यहाँको प्राकृतिक तथा कृतिम पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्यक पर्यटकको आवगमनले कुनै समय सुनसान भान्सा क्षेत्रमा अहिल पर्यटकको चहल पहल देखिन्छ । पञ्चकोटमा पर्यटकीय संरचना निर्माण भए पछि भान्सादेखि बसाइँसराइँ रोकिएको बानपा–६ का वडा सचिव रुद्रबहादुर केसीले बताउनुभयो ।

‘पहिले पहिले यहाँको घरजग्गा बेचेर तराई छिर्ने चलन थियो’ उहाँले भन्नुभयो–‘पञ्चकोटको चर्चा चुलिए पछि बसाइँ सर्ने क्रम रोकिएको छ । युवा पुस्ताले आफ्नै गाउँमा किसाना पसल, खाजा नास्ता तथा होटल व्यवसाय सञ्चालन गर्न थालेको केसीले बताउनुभयो ।

बादलको घुम्टो हटे पछि भान्साका हरेक घरको छटबाट आँखै अगाडी धौलागिरि हिमालय रेन्ज देखिन्छ । पञ्चकोट पर्यटकीय क्षेत्रको रुपमा विकास भए पछि भान्सा क्षेत्रमा आरसिसि घर बन्न थालेका छन् । कुनै दिन बाँझो जमिन गरी खाने व्यक्ति पाउन कठिन हुने भान्सा क्षेत्रको जग्गा जमिन अहिले घडेरीको रुपमा विक्री हुन थालेको सचिव केसीले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here