उत्पादन र पर्यटनमा जोडिँदै बागलुङका माझी समुदाय

बागलुङ, २२ असोज । बागलुङ नगरपालिका–१ खनियाबासका माझी समुदायको परम्परागत पेसा हो, कालीगण्डकी नदीमा माछा मार्ने, बालुवा चाल्ने । पढेलेखेका युवा पुस्ताले जागिर खाने गरेपछि अधिकांश महिलाहरूको दैनिकी कालीगण्डकी किनारमै बित्छ ।

परम्परागत पेसामा आबद्ध माझी समुदायलाई लायन्स क्लब डिस्टिक ३२५ वि वन’ले उत्पादन र पर्यटन व्यवसायसँग जोड्न थालेको छ । माझी बस्तीलाई ‘लायन्स नमुना गाउँ’ घोषण गरेर १७ परिवारलाई उत्पादनसँग जोडेको हो ।

क्लबले कुखुरा र बाख्रा पालन, तरकारी खेती, मौरी पालन, सिलाइबुनाइ व्यवसायका लागि बिउ पुँजी प्रदान गरेको छ । क्लवले देशभरका १४ गाउँलाई नमुना गाउँ घोषण गर्दा बागलुङको माझीबस्ती समेटिएको थियो । स्थानीयको मागअनुसार सामग्री, उपकरण र बिउ पुँजी उपलब्ध गराएको माझीबस्ती नमुना गाउँ कार्यक्रम संयोजक कुलचन्द्र शर्माले बताए ।

सो बस्तीमा होमस्टेसमेत स्थापना गर्ने योजना छ । पहिलो चरणमा सबै परिवारको लागि मौरी घार, १० परिवारका लागि बाख्राका पाठी, खुकुराका चल्ला, चार वटा सिलाइकटाइ मेसिन, पानी छान्ने फिल्टर, सरसफाई सामग्री बालबालिका लागि विद्यालय पोशाक, तरकारी खेतीका लागि यान्त्रिक हलो, समूह कार्यका लागि भाँडावर्तन उपलब्ध गराइएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वतावरण मन्त्री मणिभद्र शर्माले स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा नमुना बस्तीको विकासमा सहयोग गर्ने बताए ।

माझी बस्ती पर्यटकीय गाउँको रूपमा विकास हुनेछ । बागलुङ नगरपालिका–१ स्थित कालीगण्डकी नदी किनार, नेपालकै लामो झोलुङ्गे पुल र कालिका भगवती मन्दिर नजिकै रहेको बस्तीलाई आर्कषण बनाउन थप पूर्वाधारसमेत तयार हुनेछ ।

२०४८ सालमा सडक निर्माणको क्रममा खनियावासबाट विस्थापित भएर माझीहरू २७ वर्षसम्म बाङ्गेचौर खेल मैदानको नजिक टहरा बनाएर बस्दै आएका थिए । बागलुङ नगरपालिकाको पहलमा खनियाबासमै घर निर्माण गरेर स्थान्तरण गरिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here