जलविद्युत् आयोजना निर्माणपछि बद्लियो म्याग्दीका गाउँवस्ती

साउन १९, म्याग्दी । जिल्लाको पूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीन ओटा जलविद्युत् आयोजना निर्माण भएका छन् ।

कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीन ओटा आयोजना निर्माणाधीन र १३९ दशमलव ९४ मेगावाट क्षमताका चार ओटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङमा चहलपहल र आर्थिक गतिविधि बढाएको छ । वडाध्यक्ष चन्द्रप्रकाश फगामी भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाहरुबाट महत्वपूर्ण योगदान भएको बताउँछन्।

‘कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन्, घरघरमा रोजगारी र आम्दानीको अवसर सृजना भएको छ’ , उनले भने,  ‘जलविद्युत् आयोजना भित्रिएसँगै गाउँका कच्ची घर पक्कीमा रूपान्तरण भइरहेका छन् ।’

४५० घरधुरीमा १ हजार ६०० जनसङ्ख्याको बसोबास भएको नारच्याङका जलविद्युत् आयोजनाहरुमा काम गर्न त्योभन्दा बढी सङ्ख्यामा मानिस बाहिरबाट आएका छन् ।

वडाध्यक्ष फगामीका अनुसार प्रतिरोपनी ३० देखि ३५ लाख रुपैयाँमा जग्गा खरीदविक्री हुन थालेको छ । अवसर र रोजगार खोज्दै शहर बजार, पसेका र विदेसिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइँसराइ रोकिएको छ । गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन तथा स्वास्थ्य संस्थाको भवन बनेका छन् ।

जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेली ब्रिज, भवनलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको छ । जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटेल, रेष्टुरेन्ट, ठेक्का–पट्टा, ढुवानी, यातायात व्यवसाय, शेयर लगानी र ज्याला मजदूरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताए।

निर्माणका क्रममा हुने वातावरणीय क्षतिको असर न्यूनीकरणका लागि जलविद्युत् आयोजनाहरुले कुल लागतको शून्य दशमलव ७५ प्रतिशत सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन र खर्च गर्नुपर्ने हुन्छ । जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी (सलामी दस्तुर) मध्ये सङ्घीय सरकारलाई ५०, प्रदेश र पालिकालाई २५/ २५ प्रतिशतका दरले बाँडफाँड हुने संवैधानिक व्यवस्था छ ।

सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत नारच्याङका सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता, वृक्षरोपण, सीपमूलक तालीम, जैविक विविधताको खोज अनुसन्धान र संरक्षण, पर्यटन प्रबर्द्धनलाई सहयोग पुग्ने कार्यक्रम गरिएका छन् ।

हालै निर्माण सकिएको म्रिस्तीखोला जलविद्युत् आयोजनाको वातावरणीय एकाइका प्रमुख रामकुमार खड्काका अनुसार प्रभा माविका तीनजना निजी स्रोतका शिक्षकका लागि सात वर्ष तलबभत्ता उपलब्ध गराइएको थियो । प्रभा माविले दुई वर्षदेखि हाइड्रो इन्जिनीयरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ । क्रान्ति, नीलगिरि, धवलागिरि र नारच्याङ आधारभूत विद्यालयका प्रावि तहका एक/ एकजना शिक्षकलाई सात वर्ष सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत म्रिस्तीखोलाले तलबभत्ता व्यवस्था गरेको थियो ।

म्रिस्तीखोला जलविद्युत् आयोजनाले २०७१ सालमा कालीगण्डकी नदीमाथि बेली ब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेंसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुई ओटा बेली ब्रिज बनाएको म्रिस्तीखोलाले १४ किलोमिटर सडक निर्माण गरेको छ ।

रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेंसीदेखि लेकगाउँ गत वर्ष सडक सञ्जालमा जोडिएको थियो । स्थानीयवासी, तत्कालीन जिविस र गाउँपालिकाले १ करोड रुपैयाँभन्दा बढी खर्च गरे पनि बेंसीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो ।

जलविद्युत् आयोजनाले विस्फोटक पदार्थ र उपकरण प्रयोग गरेर अक्करे पहाड छिचोलेर गाउँमा सडक पुगेको लेकगाउँका श्याम पुर्जाले बताए ।

गत वर्ष म्रिस्तीखोला जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाले १७ लाख ३ हजार ५१२ कित्ता शेयरमा लगानी गरेका थिए ।  नेपाल स्टक एक्सचेञ्जमा गत हप्ता म्रिस्तीको प्रतिकित्ता शेयर ९७० रुपैयाँका दरले कारोबार भएको थियो । शेयरको भाउ करीब १० गुणाले बढेपछि लगानी गरेका नारच्याङवासी उत्साहित छन् । संस्थापक शेयरमा लगानी गरेका उनीहरुले दुई वर्षपछि किनबेच गर्न पाउँछन् ।

एकै वडामा १० ओटा आयोजना
विसं २०४५ मा नेपाल विद्युत् प्राधिकरणले दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण गरेको नारच्याङमा २०७६ सालमा म्याग्देलीहरुको अगुवाइमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो । विसं २०७३ जेठदेखि माउन्टेन इनर्जी नेपालले निर्माण शुरु गरेको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले गत असारदेखि व्यावसायिक उत्पादन शुरु गरेको छ ।

नीलगिरिखोला हाइड्रोपावर लिमिटेडले एकै साथ ३८ मेगावाट क्षमताको नीलगिरि–१ र ७१ मेगावाट क्षमताको नीलगिरि–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।१३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको दुई ओटै आयोजना सन् २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको इन्जिनीयर केशव वाग्लेले बताए।

कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । कालीगण्डकी गर्ज लगानीकर्ताको खोजीमा छ ।

माउन्टेन इनर्जी नेपालले म्रिस्तीखोलाको विद्युत्गृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय अध्ययन थालेको छ । हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ५३ दशमलव ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ । रासस

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here