बागलुङमा मोतियाविन्दु भएका ४२ जना विरामीको निःशुल्क शल्यक्रिया

बागलुङ, २९ बैशाख गते । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा मंगलबार मोतियाविन्दु भएका ४२ जना विरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

अस्पतालको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको निःशुल्क शल्यक्रियामा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका ४२ जना मोतियाविन्दु भएका बिरामीको सफल शल्यक्रिया गरिएको अस्पतालका कन्सल्टेन्ट अप्थाल्मोलोजिष्ट डाक्टर कुशल गुरुङले बताउनुभयो ।

धौलागिरी प्रादेशिक अस्पताल बागलुङ मार्फत बागलुङका विभिन्न स्थानसहित पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालन गरिएको आँखाको स्क्रिनिङ शिविरमार्फत शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूको पहिचान तथा लगत संकलन गरिएको थियो । सोही आधारमा बिरामीलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याई मंगलबार शल्यक्रिया गरिएको हो ।

हिमालयन आँखा अस्पताल पोखरा र धौलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको हो । हिमालयन आँखा अस्पताल पोखराकी कन्सल्टेन्ट अप्थाल्मोलोजिष्ट डा. नारायणी भट्टराई रोकाको संयोजकत्वमा शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी प्रादेशिक अस्पताल बागलुङका कन्सल्टेन्ट अप्थाल्मोलोजिष्ट डाक्टर गुरुङले जानकारी दिनुभयो ।