
बागलुङ, २४ बैशाख । बागलुङको जैमिनी नगरपालिका–३ ले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । जैमिनी नगरपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले बुधबार देखि नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको बताउनुभयो ।
वडा भवन निर्माण गर्न गण्डकी प्रदेश सरकारले ४० लाख र जैमिनी नगरपालिकाले ६० लाख रुपैयाँ बजेट बिनियोजित गरेका थिए । नवनिर्मित भवनको गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जितबहादर शेरचनले उद्घाटन गर्नुभयो ।
वडा कार्यालय भवन उद्घाटन समारोहमा बोल्दै आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले गण्डकी प्रदेशको समृद्धिको लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
‘गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको समृद्धिको लागि काम गरिरहेको छ, सरकारले बजेट पहुँचको आधारमा होइन, आवश्यकताको आधारमा बिनियोजित गर्नुपर्छ भन्ने मान्यता मैले राख्दै आएको छु’, मन्त्री शेरचनले भन्नुभयो,‘ दमेकको विकासको लागि मैले के गर्नुपर्छ त्यो अवश्य नै गर्छू, दमेक मात्र होइन लाप्राङ, मुस्ताङ सबै हाम्रो गाउँहरु हुन् सबैको ठाउँको विकास गर्न सबै एक हुन आवश्यक छ ।’
मन्त्री शेरचनले कुनै पनि स्थानको विकास मैले गरे भनेर प्रचारप्रसार गर्न आवश्यक नरहेको बताउनुभयो । ‘ हामी आउनुभन्दा पहिला नै हाम्रा बुवाहरुले ठाउँठाउँमा पुल बाटोहरु बनाउनुभयो, प्रचारप्रसार गर्नु भएन’, उहाँले भन्नुभयो, ‘हामीले कुनै पनि स्थानमा बजेट हाल्यौ, विकास ग¥यौ भनेर प्रचारप्रसार गछौं, त्यो आवश्यक छैन, विकासको नाममा हामीले आफ्नौ मात्र प्रचारप्रसार गरेका छौं ।’
जैमिनी नगरपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले वडा भवन निर्माण भएपछि दैनिक सेवा प्रवाहमा सहज हुने बताउनुभयो ।
‘साविकको दमेक गाविस फुटाएर दुईवटा वडा बनाउँदा ३ नम्बर वडामा कुनै पनि सामाजिक भवनहरु थिएन’, वडाध्यक्ष भु्जेलले भन्नुभयो, ‘वडाका स्थानीयहरुले आफ्नो पितृको नाममा १० रोपनी जग्गा निशुल्क दान गरेपछि १ करोडको लागतमा वडा भवन निर्माण सम्पन्न गरेर आजदेखि सेवा प्रवाह सुरु गरेका छौं, बाँकी जग्गामा नेपाने शहरी स्वास्थ्य इकाई भवन निर्माणाधिन रहेको छ ।’
वडाध्यक्ष भुजेलले १२ लाखको लगानीमा कृषि उपसंकलन केन्द्र निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
जैमिनी नगरपालिका–३ दमेक, साविक दमेक गाविस–८ भातडाँडाका स्थानीयहरुले आफ्नो पितृको स्मृतिमा वडा कार्यालय भवन बनाउन इन्द्रकली पुन, चन्द्रबहादुर पुन, पार्वती पुन, दलबहादुर पुन, ओमबहादुर पाण्डे, उमादेवी पाण्डे, ताराबहादुर पाण्डे, विष्णु पाण्डे, कृष्णबहादुर छन्त्याल र तुलसी छन्त्यालले १० रोपनी बढी जग्गा निशुलक दान गर्नुभएको थियो ।
भवन बनाउन निशुल्क जग्गा दान गर्ने दाताहरुलाई आर्थिक मामिला मन्त्री जितबहादु्र शेरचन र जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।











