गोरु काटेको आरोपमा १० जना पक्राउ

बागलुङ, ३० बैशाख । बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–३ घोसामा सोमबार गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमल जंग थापाले बताउनुभयो ।

प्रहरी निरीक्षक थापाले गोरी काटेर विला लगाउन लागेको अवस्थामा ढोरपाटन नगरपालिका–३ घोसााका ४० वर्षीय लालबिर वि.क., २१ बर्षीय सरोज सुनार, ५५ वर्षीय यम बहादुर रोका, ५३ वर्षीय तिल प्रसाद सुनार, ६० वर्षीय थाम बहादुर सुनार, ४६ वर्षीय बिमल विक, २२ वर्षीय विनोद सुनार, ३० वर्षीय जाल बहादुर कामी, ३७ वर्षीय भक्त बहादुर कामी र ४० वर्षीय रिम प्रसाद सुनारलाई पक्राउ गरिएको बताउनुभयो ।

गोरु काटिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई गोरु काटेर भाग लगाउन लागेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट गोरु काट्न प्रयोग गरिएका हतियारहरु समेत बरामद गरिएको छ । पक्राउ परेका दश जनालाई पशुपंक्षी कसूर (गाई, गोरु मार्न वा काट्न नहुने)मा जिल्ला अदालत बागलुङबाट ५ दिको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रनि थापाले बताउनुभयो ।

नेपालमा गाई वा गोरु काट्न कानूनी रूपमा पूर्ण प्रतिबन्ध छ । संविधान तथा मुलुकी फौजदारी संहिता, २०७४ अनुसार गाइ वा गोरु काट्ने व्यक्तिलाई ३ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । सहयोग गर्ने वा अंगभंग गर्ने व्यक्तिलाई ६ महिना कैद सजाय र घाइते पार्ने वा यातना दिनेलाई ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।