
काठमाडौं, १७ मंसिर । ३ घण्टा प्रहरी हिरासतमा रहेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल छुटेका छन् । नेता पौडेल पक्राउको चौतर्फी विरोध भएपछि तनहु प्रहरीले उनलाई हिरासतमुक्त गरेको छ ।
निषेधाज्ञा तोडेको आरोपमा पौडेललाई आज दिउसो प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेको थियो । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।
उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको प्रहरीले जनाएको छ । सोही बिषयलाई लिएर काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेका थिए । साथै प्रधानमन्त्री केपी शर्मा ओलीई टेलिफोन गरेर तत्काल रिहा गर्न आग्रह गरेका थिए ।
सभापति देउवाले प्रधानमन्त्री ओलीसँग वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिनु पर्नाका कारणसमेत सोधेका थिए । व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने पुलको आज उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।
काँग्रेसका वरिष्ठ नेता पौडेलले दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको पुलको नेकपा सर्मथित राष्ट्रिय युवा संघ नेपालले अवरोध गरेपछि तनाव भएको थियो । युवा सङ्घले नाराबाजी गर्ने, जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो र दमौलीमा मोटरसाईकल र्याली गरेको थियो ।
यता नेपाली काँग्रेस निकट नेपाल तरुणदले पनि ठुलो सङ्ख्यामा युवा परिचालन गरी निषेधआज्ञा तोड्न लागेपछि सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको थियो । आन्दोलनकारी सँगै रहेकाका वरिष्ठ नेता पौडेललाई व्यास नगरपालिका–१ तालघरेबाट प्रहरीले गिरफ्तार गरेको हो । स्थिती तनाव भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार दिउँसो निषेधाज्ञा जारी गरेको थियो ।










