काठमाडौं, ३० कार्तिक । लिभरपुल स्ट्राइकर मोहम्मद सलाह कोभिड–१९ बाट संक्रमित भएको इजिप्ट फुटबल संघले शुक्रबार जनाएको छ । अफ्रिकी कप अफ नेसन्स छनोटमा इजिप्टले टोगोविरुद्ध खेल्नु अगाडि उनलाई संक्रमण पुष्टि भएको हो । यो उनको इंग्लिस प्रिमियर लिग क्लबका लागि थप धक्का रहेको छ ।

चोटका कारण केही प्रमुख खेलाडी गुमाइसकेको लिभरपुलका लागि सलाहले पनि केही खेल खेल्न सक्ने छैनन् । इजिप्ट फुटबल संघले आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रो राष्ट्रिय टिमका खेलाडीको कोभिड–१९ परीक्षणमा लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाहको नतिजा कोरोना भाइरसबाट संक्रमित पाइएको छ ।’

संघले अगाडि भनेको छ, ‘उनमा केही पनि लक्षण देखिएको छैन । टिमका अन्य सदस्यको नतिजा भने नेगेटिभ छ । लिभरपुलसँगको समन्यवमा उनी चिकित्सकीय उपचारबाट गुज्रिने छन् । उनी अहिले आइसोलेसनमा छन् र उनी सबै प्रकारका बाहिरी सम्पर्कबाट टाढा रहेका छन् ।’ अबको केही समयमा उनी फेरि अर्को परिक्षणबाट गुज्रिने पनि संघले जनाएको छ ।

योर्गन क्लोपको लिभरपुलले यसअघि नै आफ्ना सेन्ट्रल ब्याक भिर्जिल भान डाइक र जोए गोमेजलाई लामो समयका लागि गुमाइसकेको छ । सलाह पनि केही चरणका खेलमा उपलब्ध नहुने भएपछि टिमलाई अझ अप्ठ्यारो पर्ने सक्नेछ । अर्को साता लिभरपुलले अंकतालिकाको शीर्षस्थानमा रहेको लेस्टरको सामना गर्नेछ । सलाहको अनुपस्थितिमा टिमको आक्रमण कमजोर हुन सक्नेछ । कान्तिपुर दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here