
टिका बहादुर कार्की
सन् २०२० कोभिड–१९ (कोरोना भाईरस रोग) का कारण हुने खानेहरुका लागी चाहेका बेला घरमै बसेर वा घुमफिर गरेर, अनि हुँदा खानेका लागी बार्षिक पर्व तथा कुनै बिशेष अबसरले मात्र घर परिवार, आफन्त र साथीसंगीसंग भेटघाट तथा रमाईलो गरी बर्ष दिनका दुःख साटेर खुसी मानिन्थ्यो भन्दै गन गन गरेर करिब १० महिना दिन बितेको पत्तै भएन । अङ्ग्रेजी महिना वा दिन गन्तीमा १३ औं संख्या अशुभ मानिन्छ, तर २० औं पनि अशुभ नै रहनु संयोग वा वास्तबिक रुपमा अशुभ हो प्रभु नै जानुन् ।
कोभिड–१९ ले सन् २०२० मा पारेको प्रभावबारे संक्षिप्त बिमर्श गरौं । हामीकहां परम्पराबादीहरु बिशेष गरी सुन्यमा साईत गर्दैनन् । २० गतेका दिन क्युमा परेका सार्बजनिक सवारी साधनवालाले कुनै बहाना मिलेसम्म सेवा दिन चाहादैनन् , कारोवार पनि गर्न नचाहानेका लागी साईत राम्रो हँुदैन रे । तर के गर्नु संसारमा सबै भन्दा धेरै ज्योतिषी रहेको, व्यक्ति देखि संस्थागतका साथै बिशेषत उच्च पदस्थका लागी भविष्यबाणी गरेर चर्चामा आईरहने पाईलट बाबा लगायतका धुरन्धर ज्योतिषहरु कहाँ थिए वा तिनको वास्ता गरिएन ? नेपाल भ्रमण बर्ष सन् २०२० लाई अनिवार्य रुपमा सरकारी लेटर प्याडको सिरानमा लोगो राखेर गर्ने, देश बिदेशमा प्रचार प्रसार गर्ने गराउने, पर्यटनका नयाँ–नयाँ गन्तव्यहरु घोषणा गरेर पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मात्र बिकास गर्ने नभइ देशका सांस्क्रतिक स्थल, परम्परा तथा भौगोलिक बिविधतालाई बिश्वसामु चिनाउने महान कार्य योजना असफल मात्र भएन, बिवाह पश्चात हनिमुन छुट्टी एवं औपचारिक अनौपचारिक भ्रमण कार्यदलहरु मार्फत बिबिध भ्रमणहरु गरी खुसी मनाउने क्रममा रहेका अभागीहरु हठात लकडाउनमा परे, अलपत्र अबस्थाबाट सम्बन्धीत देशले उद्धार नै गरेर आफ्ना नागरिकलाई सुरक्षित साथ लगे । यो बर्ष भित्रका योजना अनुसार बुकिङ भएका पर्यटकीय गन्तव्यका कार्यक्रमहरु स्थगित गर्न बाध्य भए ।
त्यसै गरि पर्यटन क्षेत्रलाई सुनौलो भविष्य निर्माणको मार्ग चित्र कोर्दै अथाह लगानी गरेर आन्तरिक तथा बाह्य पर्यटनका लागी होम स्टे देखि पाँच तारे होटल समेतको व्यवस्था गरिरहेका व्यवसायी नराम्रो सित थला परिरहेका छन् । यो समस्या नेपालको मात्र नभएर बिश्वभरकै हो । कोरोना नियन्त्रणका लागी गरिएको लकडाउन अबधी र लकडाउन पछी पनि शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी निकाय एवं यातायात लगायत पुर्ण रुपमा संचालन हुन नसक्दा सानातिना होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी धार्मिक पर्यटकीय स्थलका ब्यबसायी सडकमा आउने अबस्था सृजना हुँदैछ । यि नीजि क्षेत्रका व्यवसायी आफु आत्मनिर्भर हुन मात्र होईनकि, पर्यटक तथा यात्रुलाई सुबिधा सहितको सेवा दिएर बिबिध संस्कृति र प्रकृतिको परिचय बांड्दै राज्यलाई कर तिरेर, देशमा रोजगारी सृजना गरि लाखौको भविष्यसंग सरोकार राख्थे ।
तीब्र प्रतिस्प्रधाको यस युगमा कडा संघर्षका साथ आय आर्जन गर्दै आफु आफ्नो परिवार तथा सम्बन्धीत निकायका पदाधिकारी एवं कामदारलाई भ्रमण तथा सांगीतिक र सांस्कृतिक कार्यक्रम मार्फत मनोरन्जन गरे÷गराएर तनाव मुक्त हुन जो कोही पनि चाहान्छ । होम क्वारेन्टिन वा होम आईसोलेसनमा रहेर भर्चुअल माध्यमबाट पुराना सांगितिक कार्यक्रमबाट आनन्द लिएर बस्न पनि असम्भव हुँदो रहेछ । बैङ्कको व्याज र किस्ताको पिरले चिन्तित ऋणीहरु यती बेला आफ्नो महाभारत बिर्सेर अर्को महाभारतको कथा सुनेर मन शान्त गर्न सक्ने अबस्थामा छैनन् भने मानिस भेला जम्मा गरेर धार्मिक वा कुनै उपदेश सुन्न पाउने अबस्था पनि छैन । कृषि, उद्योग, निर्माण, उत्पादन मुलक बैकल्पिक पेशा वा व्यबसाय भएका, आफ्नै जमिन तथा पुर्वाधारमा संचालित पर्यटक वा यात्रुमा आश्रीत व्यवसायी बाहेक पलायन भैरहंदा तिनलाई पहिलेको अबस्थामा आउन वा ल्याउन कति सम्भव होला, जो बिरक्तिएर फकिर जस्तै भैसकेको हुन्छ । आगामी बर्ष देखि बेरोजगारी बढ्नुका साथै चरम गरिबीको अवस्था सृजना हुन सक्ने बिश्व बैङ्कको बिश्लेषण तथा हालको अनियमित र अनिश्चित आर्थिक गतिबिधीले आगामी दिनहरु पनि सुखद नहुने देखिन्छन ।
मनोपरामर्श वेत्ताहरुले भने जस्तै खुसीको लागी होईन खुसीका साथ बाँच्न सक्ने अवस्था यो होईन । यो त केवल धैर्य र आत्मबलका साथ बाँच्ने बेला हो । तर, हामी मध्य कोरोना जित्नेहरु आत्मबल र धैर्यताले बाचेको दाबी गरि रहँदा मृत्यु बरण गर्नेहरु सबै कायर त पक्कै होईनन् । ति अभागी हुन, जो उपचारका लागी अस्पताल धाउदा धाउदै र कोरोना पोजेटिभ नहुँदा नहुँदै पनि समयमा उपचार नपाएर बिते । दिर्घ रोगी, गम्भिर बिरामी, बृद्ध तथा बालबालिका कोरोनाको जोखिममा हुन सक्ने हुँदा तिनका घर परिवार वा आफन्तले ख्याल राख्नुपर्ने अवस्था बिद्यमान छ । तर ज्वरो, स्वास प्रस्वास, मुटुका बिरामीले तत्काल सहजै उपचार नपाएर मृत्युबरण गर्नुपर्ने अबस्था चाहीं दुर्भाग्य नै हो ।
भोको पेटले चाडबाड नभन्दो रहेछ । दशैंको मुखमा टिका जमरा थापेर बाबु आमाको आर्शिबाद लिन छोडेर धमाधम काममा जोतिन तयार हँुदै कोही बिदेश जांदै छन् त कोही पैसा कमाउन सके परिवारको पेट पाल्न सकिन्छकि भनेर कामको खोजीमा भौतारिई रहेका छन् । अङ्ग्रेजी पात्रो अनुसार सन् २०२० बर्षले यस बर्षको खुसी लुटेको मात्र छैन, आगामी बर्षका लागी कसैले आनन्दसाथ दिन बिताउने अनुमान गर्न पनि सकिरहेका छैनन् । सायत आगामी बर्षहरु पनि हामी धैर्य तथा आत्मबल कायम राखेर जिउनु पर्ला जस्तो छ । कोरोना संक्रमण नियन्त्रण गर्न सबै जनहरु सतर्क र सचेत रहँदै सुरक्षित साथ रहन सक्यौं भने औषधी बिना पनि बिगत जस्तै आगामी दिन सुखदायी रहने छन् । त्यो कोरोनाले लुटेको खुसी फर्काउने कोशिस गरौं ।