यो वर्ष नयाँ नोट सटही नहुने

काठमाडौं, २२ असोज । यो वर्षको दसैंमा नेपाल राष्ट्र बैंकले आफ्नो कार्यालयबाट सिधै सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ ।

विगतका वर्षमा केन्द्रीय कार्यालय बालुवाटार वा थापाथली कार्यालय तथा क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण हुँदै आएको थियो । यस पटक कोरोनाको जोखिमका कारण राष्ट्र बैंकले आफ्ना कार्यालयबाट नयाँ नोट वितरण नगर्ने भएको हो ।

राष्ट्र बैंकले नयाँ नोट वितरण गर्दा भीड बढ्ने भएकाले नयाँ नोट वितरण नहुने एक उच्च अधिकारीले जानकारी दिए । यद्यपि यसबारे ठोस निर्णय राष्ट्र बैंकले गरिसकेको छैन । प्रवक्ता डा. गुणाकर भट्टले भने नयाँ नोट सटही कसरी गर्ने वा नगर्ने भन्ने बारेमा अझै निर्णय भइनसकेको बताए ।

‘नोट सटहीको व्यवस्था गर्दा हुने भीडले जोखिम बढाउने भएकाले पहिलेजस्तो राष्ट्र बैंकको कार्यालयमा लाइन लागेर नोट सटहीको व्यवस्था संभवत नहोला’ उनले भने । तर बैंकहरुमार्फत नोट वितरण गर्ने वा नगर्ने भन्ने बारेमा केही दिनमै निर्णय हुने उनले बताए ।

बैंकमार्फत वितरण गर्दा पनि जोखिम बढ्न सक्ने भएकाले यस वर्ष नयाँ नोट नै वितरण नगर्ने राष्ट्र बैंकको तयारी छ ।

बैंकका कतिपय कर्मचारी संक्रमित भइसकेका छन्। जसले गर्दा बैंकहरुमार्फत पनि यो वर्ष नयाँ नोट वितरण हुने संभावना नरहेकाे एक अधिकारीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here