हाम्रो शिक्षा र शिक्षकको अवस्था

टिका बहादुर कार्की
असोज १९ तदनुसार (अक्टोवर ५ तारिख २०२०) बिश्व शिक्षक दिवसको अबसरमा सर्वप्रथम आदरणीय गुरुहरुको व्यक्तिगत तथा पेशागत स्थितिमा उत्तरोत्तर प्रगतीको शुभकामना दिंदै समसामयिक विषयमा चर्चा गरौं ।

आधुनिक शिक्षाको सुरुआत हुने क्रममा शिक्षा आर्जनका लागी पहाडी भेगमा सचेत अबिभावकले क्षमता र ईच्छानुसार आफ्ना सन्ततीलाई केही बनारसी पण्डितका घर आगनमा पढाउन पठाएको पनि ७० बर्ष जति भयो होला । राजनीतिदेखि वानप्रस्थाश्रमको स्थितीमा रहनु भएका अधिकांश हाम्रा अबिभावक ज्युहरुका आत्मकथाबाट बोध गरिएका आत्मकथा हुन यि । निश्चित फिस वा गुरुभेटी चढाएर संस्कृतका स्लोक देखि हिसाब र बिज्ञानका सुत्रदेखि पाठसम्म कण्ठस्थ पार्दै परिक्षामा दुरुस्त लेख्न सक्नेले १०० पुर्णङ्कमा ६० ∕ ७० सम्म ल्याउने उत्कृष्ठ बिद्यार्थी कहलिन्थे ।

गुरु मन्त्र नजान्ने, पढ्न नसक्ने गंवारलाई खेती किसानीमा लगाई दिन्थे अबिभावक पनि । पंडित्याई गर्ने बाहेक अरुलाई पढाउने तिर कमैको ध्यान थियो । गुरुलाई बाबु, आमा पछि बाबुकै सम्मान स्वरुप मर्यादा राख्ने गरिन्थ्यो र आजसम्म बिद्यार्थीका नजर अगाडी गुरुहरु मर्यादित नै हुनुहुन्छ । मैले पनि एक पटक गुरुको आदरार्थ “ॐ गुरुदेव्यो नमः” गरी प्रणाम गर्न चाहें । आज हाम्रो सामुदायिक शिक्षालयहरुको स्थिति तर्फ मन्थन गर्दै आफु र आफ्ना सन्ततीका लागी शिक्षा दिने, शिक्षाको ज्योती लिएर आउदै बिद्यार्थीलाई पढाउने, शिक्षा बिधी सिकाउने शिक्षकका लागी बिद्यालय तिर नजर लगाईयो भने थाहा हुन्छ कि स्कुल जांदा आफु बस्ने चकटी बोकेर हिंड्ने र आफैले लगेको कालो स्लेट ढुंगामा सेतो खरी ढुंगाले लेखेर कखरा सिकेका हामी त अनलाईन शिक्षा युगमा प्रवेश गरि सक्यौं भने त्यही कुरा संझाएर सरकारी बिद्यालयलाई आवश्यक साधन श्रोत तथा पुर्वाधारको व्यवस्था नगरी दिंदा अपेक्षाकृत रुपमा शैक्षिक गुणस्तरमा सुधार नआएको हो कि ?

सम्पुर्ण लगानी खर्च आफै गरेर पुर्वाधार तथा सुबिधाको व्यवस्था गरेका निजी शिक्षालयहरु गुणस्तरीय कहलींदा केही सरकारी स्कुलले सुधार गर्दै लगेता पनि अधिकांश सरकारी स्कुलको नतिजा न्युनता तर्फ अगाडी बढ्दै छ । अधिकांश सरकारी स्कुलहरु बिद्यार्थी नपाएर खाली हुँदा निजी स्कुलले निश्चित कोटा भन्दा बढी र निश्चित प्रतिशत वा अङ्क जि.पि.ए.भन्दा कमजोर बिद्यार्थी भर्ना नलिने स्थितिले सरकारी निकायलाई व्यबस्थापनको चुनौती दिएको पनि दशकौं भइसक्यो । बिद्यार्थी क्षमता अनुसार पुर्वाधार तथा दक्ष शिक्षक नियुक्त प्रकृया प्रभाबकारी रुपमा संचालन गर्नुपर्ने यस अबस्थामा सरोकारवाला निकाय अबश्य पनि बेखबर छैन । प्रारम्भमा स्थानीय तह अन्तरगत रहेका स्कुलहरुमा कार्यरत शिक्षक नै घरपायकमा सरकारी जागिर पाउने भाग्यमानी व्यक्तिलाई दलीय प्रभावमा नियुक्त गरिंदा उच्च अङ्क ल्याउने प्रतिस्पर्धीहरु बाहिरिए भने सामान्य अङ्क ल्याउनेले शिक्षकको जिम्मेवारी पाउने अवस्था थियो । परिणामतः आफुले कति प्रतिशत बुझेका थिए र बिद्यार्थीलाई कतिसम्म बुझाउन सके होलान बिचरा भन्ने कमजोर शैक्षिक गुणस्तर मापनले मेधाबी बिद्यार्थीलाई सक्षम अबिभावकले निजी बोर्डिङ स्कुलतिर पढाउन लाग्दा बिस्तारै अधिकांशले एक दुई सन्तानलाई बोर्डिङमै पढाउने प्रतिस्पर्धा कायमै छ । सर्वसाधारणका सन्ततीले अध्ययन गर्ने सामुदायिक बिद्यालयको गुणस्तर बढाउन, उच्च पदस्थ र सरकारी कर्मचारीले आफ्ना सन्ततीलाई निजी स्कुलमा पढाउन नपाउनेदेखी निजी स्कुललाई कारवाही गर्न मापडण्ड बनाउदै ठिङ्ग्याउन लागी परे पनि बिदेशमा पढ्न पठाउन कसैले रोक्न सकेको अवस्था छैन ।

आखिर किन खस्कियो त सामुदायिक शिक्षालयहरुको शैक्षिक गुणस्तर ?

राजनैतिक प्रभाव, कमजोर शिक्षक वा व्यवस्थापन वा कमजोर बिद्यार्थी ? अध्यापन शैली हेर्नुहोस – निजी स्कुलका बिद्यार्थीलाई दिनमा पाठ घोकाउने, होमवर्क दिने, दोस्रो दिन होम वर्क चेक गरी उत्तर सहित बिद्यार्थीका कापीमा लेखिदिने, मासिक तथा सेमेस्टर प्रणालीमा परिक्षा लिएर बिद्यार्थीको स्तर जांचिन्छ । कमजोर बिद्यार्थी र जटिल बिषय लक्षित गरेर बिहानैदेखि सबै बिद्यार्थीको ट्युसन कक्षा पनि संचालन गरी व्यस्त राखिन्छ । साथै बिद्यार्थीलाई रचनात्मक अध्ययनको अभ्यास पनि गराईन्छ, कुनै चिज वस्तु वा सेवाको वारेमा आफैले अध्ययन गरेर लेख तयार गर्नु । शैक्षिक संस्थाको प्रेष्टिज र शिक्षकको दक्षता अनुसार तलब दिईन्छ । तर, सरकारी स्कुलमा यो प्रकृया प्रभावकारी हुन सकेको छैन ।

घाटामा गएका बैंक तथा बित्तीय संस्थाहरुमा नेतृत्व तथा व्यवस्थापन बिदेशीलाई दिएर भए पनि केही बर्ष पछी क्रमिक सुधार हुंदै नाफामा गएको हामीले थाहा पाईराखेका छौ । समय नै प्रतिस्पर्धाको खेल जस्तो भैरहेका बेला निश्चित उमेर तथा अबधी पुगेका शिक्षकलाई आकर्षक अबकास योजना ल्याउदै खुल्ला प्रतिस्पर्धाबाट उत्कृष्ठ अङ्क ल्याउने जेहेन्दार प्रतिस्पर्धीलाई बिषय बिज्ञको सहभागितामा परिक्षा लिएर सहभागी मध्य पनि मेधाबी प्रतिस्पर्धीलाई छनौट गरी आवश्यक तालिम वा अभिमुखिकरण कार्यक्रममा सहभागी गराएर मात्र अध्यापनको जिम्मेवारी दिंदा अबश्य पनि समयानुकुल शैक्षिक प्रणाली पनि प्रविधि मैत्री वा अनलाईन शैक्षिक बिकासको रफ्तारमा अगाडी बढ्न सक्ला । गाउँका टाठाबाठा शिक्षकलाई दलिय स्वार्थमा नलगाई गुणात्मक प्रोत्सहान प्रणालीको माध्यमबाट पनि अध्यापन स्तरलाई माथी उकास्न सकिन्छ । कुनै पनि कम्पनी वा संस्थाको जिम्मेवारीमा योग्य तथा दक्ष व्यवस्थापन र कामदार छनभने कम्पनी स्वतः नाफामा जान्छ । त्यसैले सर्वसाधारण सबैलाई कालान्तरसम्म शिक्षाको अभाब (ग्याप) सृजना हुन नपाउने गरी (१) शिक्षक पद खाली नहोस् (२) बिदा बाहेक बिद्यालयमा कक्षा खाली नहोस् (३) उत्कृष्ट शिक्षक नियुक्ती होस (४) बिद्यार्थीलाई पढाईएको पाठबाट होम वर्क दिईयोस र अर्को दिन सबै बिद्यार्थीको होमवर्क चेक गर्ने, सही उत्तर कपीमा लेखिदिने परिपाटी बसालियोस् (५) सैद्दान्तिक रुपमा घोकाउने कण्ठ पार्ने भन्दा पनि व्यबहारिक एवं प्रयोगात्मक बिधिबाट लेख्न सिकाईयोस भन्दै पुर्ब बिद्यार्थीको हैसियतले केही सुझाब राख्दै बिदा हुन चाहें ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here