
काठमाडौँ, ३ साउन ।
देशभरमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमित ५७ थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएका नमूना परीक्षणमा ५७ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ५०२ पुगेको छ ।
मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १०३ रहेको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ६३७ रहेको छ । कूल सङ्क्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।
सक्रिय एउटा पनि केस नभएका जिल्लामा भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेको पनि उनले जानकारी दिए । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म ४० जनाको मृत्यु भएको छ ।









