आमासँगै आइसोलेसनमा रहेका ७ महिने बच्चामा कोरोना पुष्टि

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, ८ असार ।
आज संक्रमण पुष्टि भएका निसीखोलाका ७ महिने बच्चा आमासँगै धौलागिरी अस्पतालको आइसोलेसनमा रहेका छन् ।

७ महिने बच्चा जेठ २३ गते संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा रहेकी निसीखोलाकी ३३ बर्षिया महिलाको छोरा रहेको पुष्टि भएको छ ।

भारतबाट आइ निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेकी उनलाई संक्रमण पुष्टि भएपनि छोराको रिपोर्ट नेगेटिभ आएको थियो । २३ गते अस्पतालको आइसोलेसनमा ल्याउनको लागि सवारीसाधन नपाइएपछि गाउँपालिकाले २४ गते मात्र अस्पताल पठाएको थियो ।

बच्चाको रिपोर्ट नेगेटिभ आएकाले आइसोलेसनमा आउँदा आमालाई मात्र आउन अस्पतालले आग्रह गरेको थियो । तर ३३ बर्षिया महिलाले बच्चा सानै भएकाले घरमा हेर्नाको लागि कोहि नभएको भन्दै आग्रह गरेपछि आफुसँगै सुरक्षित रुपमा आइसोलेसनमा राख्ने प्रतिबद्धता सहित आमाछोरालाई जेठ २४ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल डा. शैलेन्द्र वि.क पोखरेलले बताउनुभयो ।

बच्चालाई उनकी आमाबाट कोरोना सरेको हुन सक्ने अस्पतालले जनाएको छ । सुरुमा आमाछोराको स्वाब परीक्षण गर्दा छोरामा नदेखिएको र अहिले आइसोलेसनमा बसिरहँदा बच्चालाई पनि संक्रमण देखिएकाले आमाबाटै सरेको हुनसक्ने डा. पोखरेलले बताउनुभयो ।

डा. पोखरेलले आइसोलेसनमा भर्ना गर्दा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले पनि सामान्य नै रहेको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here