
बागलुङ, ८ असार ।
बागलुङमा कोरोनालाई जितेर घर फर्किनेको संख्या २३ पुगेको छ ।
कोरोना संक्रमण पछि आइसोलेसन र प्रिं–आइसोलेनमा रहेका ११ जनाको दोस्रो स्वाब परीक्षण र आशंकामा आइसोलेसनमा भर्ना भएका २ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज घर फर्किएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको धौलागिरी अस्पतालको आइसोलेसन र धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा भर्ना भएका ११ जनाको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको र कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना भएका २ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
जेठ २५ गते संक्रमण पुष्टि भएका बडिगाड गाउँपालिकाका २०, २५, ३२, २५ र २२ वर्षका ५ जना पुरुष, जेठ २७ गते संक्रमण पुष्टि भएका बरेङका १८ र २३ बर्षका २ जना पुरुष, जेठ २४ गते संक्रमण देखिएका ताराखोला गाउँपालिकाका ३३ बर्षका १ जना पुरुष र असार ४ गते संक्रमण देखिएका गल्कोट नगरपालिकाका २३ बर्षका १ जना पुरुष र निसीखोला गाउँपालिकाका २२ र २९ बर्षका २ जना पुरुषको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको अस्पतालका सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
यस्तै कोरोनाको लक्षण देखिएपछि जेठ २७ गते अस्पतालको आइसोलेसनमा भर्ना भएका काठेखोला गाउँपालिकाका ६० बर्षिय पुरुष र असार १ गते भर्ना भएका जैमिनी नगरपालिकाका १८ बर्षिय किशोरको पनि पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजै घर फर्किएको सूचना अधिकारी गौतमले बताउनुभयो ।
यससँगै बागलुङमा उपचारपछि घर फर्किनेहरुको संख्या २३ पुगेको छ । यसअगाडी बडिगाड गाउँपालिका ६ जना, तमानखोला गाउँपालिकाका ४ जना र बागलुङ नगरपालिकाका २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।










