
बागलुङ, ६ असार ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले सुचना प्रवाहमा पुनः गम्भिर भुल गरेको छ ।
निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले हस्ताक्षर गरेर आज (शनिबार) निकालेको विज्ञप्तीमा गल्ती भेटिएको छ । निर्देशनालयले निकालेको विज्ञप्तीमा बागलुङको काठेखोला गाउँपालिकाका ८ जना संक्रमित भनिएपनि काठेखोला गाउँपालिकाका ५ जना रहेको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले आज पुष्टि भएका ८ जना मध्य काठेखोला गाउँपालिकाका ५ जना र ढोरपाटन नगरपालिकाका ३ जना रहेको बताउनुभयो । उहाँले विज्ञप्ती सच्चाउन निर्देशनालयलाई जानकारी गराइएको बताउनुभयो ।
उहाँले काठेखोला गाउँपालिकाका २३, ३३, ३६, ४९, २४ वर्षका ५ जना पुरुष र ढोरपाटन नगरपालिकाका ३० बर्षिय एक महिला सहित २४ र २२ वर्षका २ जना पुरुषमा संक्रमण पुष्टि भएको बताउनुभयो । उनीहरु सवैको पिसिआर परीक्षण काठमाडौंमा गरिएको प्रमुख गुरौले बताउनुभयो ।
यससँगै काठेखोला गाउँपालिकामा संक्रमितको संख्या ११ पुगेको छभने ढोरपाटन नगरपालिकामा ९ पुगेको छ । यस्तै बागलुङमा संक्रमितको संख्या ७४ पुगेको छ ।










