
बागलुङ, ५ असार ।
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा आज पुष्टि भएका कोरोना संक्रमितहरुलाई आइसोलेसनमा ल्याउनको लागि बागलुङ नगरपालिकाका सवारी चालक परिचालन गरिएको छ ।
कोरोना संक्रमितहरुलाई आइसोलेसनसम्म लैजानको लागि जिल्ला कमाण्ड पोष्टले जिल्ला प्रहरी कार्यालयको एम्बुलेन्स प्रयोग गर्ने निर्णय भएपनि आनाकानी गरेकोले नगरपालिकाले आफ्नै सावरी चालकलाई प्रयोग गरेर संक्रमितहरुलाई धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा ल्याएको हाे ।
बागलुङ नगरपालिकाका सवारी चालक कमल कार्की (रमेश)ले पिपिई लगाएर पैयुँपाटाको एम्बुलेन्समा संक्रमितहरुलाई आइसोलेसनमा ल्याएका हुन् ।
संक्रमितहरुलाई पैयँुपाटा रेडक्रसको एम्बुलेन्समा आइसोलेसनमा ल्याइएको थियाे। लकडडाउनको समयमा पोखराबाट विरामी ल्याएर बागलुङ आउँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेपछि चालकले राजिनामा दिएका थिए । चालक विहिन रहेको एम्बुलेन्समा नगरपालिकाले आफ्ना सवारी चालक परिचालन गरि संक्रमितहरुलाई आइसोलेसनमा ल्याएको हो ।
संक्रमितहरुलाई आइसोलेसनमा ल्याउनको लागि जिल्ला प्रहरी कार्यालयको एम्बुलेन्सलाई खबर गरेपनि आनाकानी गरेकोले आफ्नै सवारी चालक पठाएर ल्याइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले प्रहरीमा फोन गर्दा एम्बुलेन्स चालक नभएको प्रतिक्रिया दिएपछि आफुहरुले पैयुँपाटा रेडक्रसको एम्बुलेन्स मार्फत नगरपालिकाका सवारी चालक परिचालन गरि संक्रमितहरुलाई प्रि–आइसोलेसनमा ल्याएको बताउनुभयो ।
प्रमुख खनालले राती ८ बजेसम्म बानपा–१२ को अमलाचौरको क्वारेन्टाइनमा रहेका १ जना संक्रमितलाई आइसोलेसनमा ल्याएको र भकुण्डेको क्वारेन्टाइनमा रहेका ४ जनालाई अस्पताल ल्याइदै गरेको जानकारी दिनुभयो । उहाँले पैयुँपाटा एम्बुलेन्सका चालक दुर्घटनामा परेपछि चालकबाट राजिनामा दिएको बताउनुभयो ।
यता, जिल्ला प्रहरी कार्यालय बागलुङका डिएपि राजेन्द्र रेग्मीले प्रहरीको एम्बुलेन्स ओमन र माल्दिभ्सबाट आएका ३ जना नागरिकलाई ल्याउन पोखरा पठाएको बताउनुभयो । उहाँले विदेशबाट आएकाहरुलाई केन्द्र सरकारले पोखरासम्म ल्याइदिएको र बागलुङका पालिकाहरुले सदरमुकाम बाहिर गएर ल्याउन नसक्ने बताएपछि उनीहरुलाई ल्याउन एम्बुलेन्स पठाएको बताउनुभयो । ‘हामीले आनाकानी त गरेको होइनौं, विदेशबाट आएका नागरिक लिन पठाउनुपर्ने भएकाले अन्य व्यवस्था गर्न र नसकेपछि पोखराबाट फर्किएपछि ल्याउन पठाउने जानकारी गराइएको हो’ डिएसपि रेग्मीले भन्नुभयो ।
ओमनबाट आएका बरेङ गाउँपालिका र गल्कोट नगरपालिकाका २ जना महिला र माल्दिभ्सबाट आएका निसीखोला गाउँपालिकाका १ जना पुरुषलाई लिन एम्बुलेन्स पोखरा पठाइएको डिएसपि रेग्मीले बताउनुभयो ।
बागलुङ नगरपालिकाले भकुण्डेबाट संक्रमितहरुलाई आइसोलेसनमा ल्याइएपछि आज राती नै काठेखोलाका संक्रमितहरुलाई आइसोलेसनमा ल्याइने तयारी गरेको जनाएको छ ।







