
काठमाडौं, ३१ जेठ ।
नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको हो ।
नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७को पक्षमा २५८ र विपक्षमा शून्य मत परेको छ ।
निशान छाप भित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न भएको संविधान संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि प्रतिनिधिसभाबाट सर्वसम्मतपारित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन् ।
भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले त्यस अनुसारको संविधानको अनूसूचीमा रहेको नक्सा अद्यावधि गर्न जेठ ९ मा संशोधन विधेयक संसदमा दर्ता गरेको थियो । राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधिनताका पक्षमा एक हुने भन्दै उक्त संशोधन विधेयकको पक्षमा सबै दल एक मत भएका हुन् ।
यसअघि प्रतिनिधिसभामा जेठ २७ गते संशोधन विधेयकमाथि विचार गरियोेस् भन्ने सरकारको प्रस्तावका पक्षमा सबै दल एक भएका थिए । सुरुदेखि नै नयाँ नक्साको निर्णयमा विरोध जनाएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव भने खारेज भएको छ ।









