
बागलुङ, ३१ जेठ ।
बागलुङको धौलागिरी अस्पतालबाट कोरोना संक्रमित २ जना डिस्चार्ज भएका छन् ।
जेठ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका तमानखोलाका २१ बर्षिय २ जना पुरुषलाई आज डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार अस्पतालमा भर्ना भएको १४ दिनपछि कुनै लक्षण नदेखिएमा डिस्चार्ज गर्ने प्रावधान भएपनि तमानखोलाका २ जना युवालाई १७ दिनपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।
सरकारले गत जेठ २० गते जारी गरेको राष्ट्रिय जाँच परीक्षण निर्देशिका अनुसार कोरोना संक्रमित व्यक्तिहरुमा संक्रमण लक्षणमुक्त भएको तीन दिन र जम्मा भर्ना भएको १४ दिन पछि परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको थियो ।
यस्ता बिरामीबाट कोरोना संक्रमण अरुमा सर्ने सम्भावना न्यून भएको हुँदा परीक्षण नगरी घर पठाइने अस्पतालका मेसु डा. पोखरेलले जानकारी दिनुभयो ।
‘टेस्ट गर्न आवश्यक छैन भनेर मन्त्रालय र डब्लुएचओले भनेपछि फेरि परीक्षणको झञ्झन्टतिर लाग्नुपरेन’ मेसु डा. पोखरेलले भन्नुभयो–‘यसले ल्याबमा अनाश्यक चाप, दवाब र खर्च भएन ।’
डिस्चार्ज भएकाहरुलाई अस्पतालबाट घरमा गएर थप १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने, सबै नियमको पालना गर्न सुझाव दिइएको अस्पतालका सूचना अधिकारी गौतमले बताउनुभयो । उहाँले गाउँपालिकाले पठाएको सवारीमा उनीहरुलाई घर पठाइएको जानकारी दिनुभयो ।
यससँगै बागलुङमा उपचारपछि घर फर्किनेहरुको संख्या ८ पुगेको छ । यसअगाडी बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाका २/२ जना घर फर्किसकेका छन् ।










