
नवीन शिशिर
बागलुङ, २९ जेठ ।
कोरोनाको कहरले भारतमा रोजगारी गुम्यो । लकडाउनको कारण रोजगारी गुमे पछि अर्काको देशमा भाडाको कोठामा बसेर खाना पनि समस्या । काठेखोला गाउँपालिका–२ का धनबहादुर केसीले बाटोको जोखिम मोलेरै भए पनि जसो तसो नेपाल (आफ्नो घर फर्कने) निर्णय गरेर सिमा नाकासम्म आए ।
सिमा नाकाबाट प्रहरीले गृह जिल्ला बागलुङको मालढुङ्गासम्म ल्याई दिए पनि केसी लगायतको भारतबाट आएका अन्य युवाहरुले काठेखोला गाउँपालिकाले जिम्मेवारी लिएर पालिका तथा वडा स्तरको क्वारेन्टाईनमा राख्यो । केसी लगायत उनीसँगै आएका अन्य १४ जना युवाहरु काठेखोला गाउँपालिका–२ भीमापोखरा वडा कार्यालयले जनकल्यण माविमा निर्माण गरेको क्वारेन्टाइनमा जेष्ठ १९ गतेदेखि बस्दै आएका छन् ।
भारतको सिलोङदेखि आफ्नै गाउँको क्वारेन्टाइनमा बसेको दश दिन बढी हुँदा समेत उनीहरुको आवश्यक स्वास्थ्य परीक्षण भएको छैन । आरडिटी वा पिसिआर कुनै पनि विधिबाट उनीहरुको स्वास्थ्य परीक्षण भएको छैन । क्वारेन्टाइनमा खाना, बस्न तथा अन्य सुविधा राम्रो छ राजधानी दैनिकसँगको कुराकानीमा धनबहादुर केसीले भने– दुई हप्ता पुग्न लाग्दा समेत स्वास्थ्य परीक्षण नहुँदा ढुक्क छैनौँ ।’
क्वारेन्टाइनमा रहेका अर्का युवा यामबहादुर कुँवरले पनि पिसिआर परीक्षण नहुँदा ढुक्क भएर बस्न नसकेको प्रतिक्रिया दिए । खाने, बस्ने, दैनिक उपयोगका सामाग्री, पानी तथा शौचालयको व्यवस्था राम्रो छ खुसी पनि छौँ’ कुँवरले भने–‘कोरोना जाँच दिए ढुक्क भएर घर जाने थियौँ ।
क्वारेन्टाइनमा रहेका सबै युवाहरुलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको भीमापोखरा स्वास्थ्य चौकी प्रमुख शोमनाथ पाण्डले जानकारी दिए । सबै एउटै गाउँका युवाहरु क्वारेन्टाइनमा बस्दा दिन काट्न गाह्रो त भएको छैन उनले भने ‘उनीहरुको माग स्वास्थ्य परीक्षण हो वडा तथा पालिकाको काबु बाहिराको क्षेत्र पर्र्यो ।
भारतबाट आएर गाउँपालिका तथा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा रहेका नागरिकले तत्काल पिसिआर परीक्षण गरी घर पठाउन माग गरी रहेका छन । क्वारेन्टाइनलाई अभावमुक्त र तनाव मुक्त बनाए पनि भारतबाट आएका नागरिक ढुक्क छैनन’ काठेखोला गाउँपालिका–३ धम्जा सामुदायिक स्वास्थ्य इकाईका प्रमुख लोकबहादुर भण्डारीले भने ‘उनीहरुको एउटै माग स्वास्थ्य परीक्षण र घर फिर्ता ।’
स्वास्थ्य परीक्षण विना लक्षण विहिन नागरिकलाई घर फर्काउँदा सामाजिक विभेद खेप्नुपर्ने काठेखोला गाउँपालिका–२ का वडाध्यक्ष विद्यापति शर्माको भर्नाइ छ । स्वास्थ्य मन्त्रालयलको नयाँ निर्देशन अनुसार १४ दिन पछि लक्षण नदेखिएका नागरिकलाई क्वारेन्टाइनबाट घर फर्कान सकिने छ तर समाज ढुक्क हुन सक्दैन । स्वास्थ्य परीक्षण विना घर फर्काउँदा घर समाजमा त्रास फैलनुका साथै विदेशबाट आएका युवाहरु विभेदमा पर्ने अध्यक्ष शर्माको भनाई छ ।
काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले पिसिआर परीक्षणमा ढिला हुँदा गाउँपालिकाको दैनिक खर्च बृद्धि हुँदै गएको बताए । गाउँपालिकाले दैनिक खाना खर्चको लागि मात्रा ५३ हजार बढी खर्च गर्दै आएको उनले भने– पिसिआर परीक्षणमा ढिलाई हुँदा दैनिक खर्च समेत थेग्न गाह्रो हुने अवस्था आउन सक्छ ।
गण्डकी प्रदेश सरकारले धौलागिरी अंचल अस्पताललाई कोरोना परीक्षणको लागि पिसिआर मेशिन उपलब्ध नगराए बागलुङका दश पालिकाको साझेदारीमा मेशिन किनेरै भए पनि स्वास्थ्य परीक्षण गर्ने बताए ।
बागलुङको दश स्थानीय तहमा निर्माण गरेको क्वारेन्टाइनमा एक हजार ३९० पुरुष र दुई सय २६ महिला गरी कुल एक हजार ६१६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । स्वाव संकलनको लागि जनशक्ति अभाव तथा गण्डकी प्रदेशमा रहेको पिसिआर मेशिनको परीक्षण क्षमता कम हुँदा स्वास्थ्य परीक्षणमा ढिलाई भएको गुरौको भनाई छ । मेशिनको दैनिक क्षमता कम र क्वारेन्टाइनमा रहेकाहरुको संख्या बढी हुँदा स्वास्थ्य परीक्षण रिपोर्ट समेत ढिला आउने गरेको उनको भनाई छ ।










